काठमाडौँ, १९ चैत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भको अवसरमा आज दलीय आधारमा मन्तव्य राख्दै उनले देश र जनताको पक्षमा आफ्नो पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
“राष्ट्र निर्माण, सामाजिक न्याय, रुपान्तरणलगायत जनहित र सकारात्मक विषयमा सरकारलाई सहयोग गर्न तयार छौँ”, सांसद पुनले भने, “गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र समावेशीतालगायत राजनीतिक उपलब्धिलाई अझ उन्नत बनाउँदै लैजानेमा सहकार्य र समन्वय गर्नेछौँ ।”
सांसद पुनले आफ्नो पार्टी लोकतान्त्रिक आचरण, व्यवहार र पद्धतिमा विश्वास राख्ने उल्लेख गर्दै नवयुवा पुस्ताले उठाएका विषयलाई सम्बोधन गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए । तत्कालीन नेकपा (माओवादी) ले २०६४ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २०७४ सालमा प्राप्त गरेको जनमत अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको उल्लेख गर्दै उनले माओवादी र नेकपाको कमीकमजोरीबाट पाठ सिकेर आगामी यात्रा तय गर्न सुझाव दिए ।




प्रतिक्रिया