काठमाडौँ, १९ चैत । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य सुधारसहित बन्द भएको छ। अघिल्लो दिन उच्च अंकले घटेको बजार यस दिन ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा पुगेको हो।
फ्लोट इण्डेक्स सामान्य बढ्दा सेन्सेटिभ तथा सेन्सेटिभ फ्लोट इण्डेक्समा भने हल्का गिरावट देखिएको छ। परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ, जहाँ बुधबारको तुलनामा कम भई ८ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। यस दिन ३२८ स्टकमा एक लाखभन्दा बढी पटक कारोबार भएको थियो।
केही कम्पनीका शेयरहरू सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा सप्तकोशी डेभलपमेन्ट बैंक र श्रीनगर एग्रीटेक इण्डस्ट्रीजका शेयरमा उल्लेख्य वृद्धि देखियो भने भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको मूल्य सबैभन्दा बढी घट्यो।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल अग्रस्थानमा रहँदा ङादी ग्रुप पावर र हिमालयन रि इन्स्योरेन्स पनि शीर्ष कारोबारमा रहे। कुल १३ उपसमूहमध्ये ७ को सूचक बढ्दा ६ उपसमूहमा गिरावट आएको छ, जसमा व्यापार र उत्पादन तथा प्रशोधन उपसमूहमा उल्लेख्य वृद्धि देखिएको छ।




प्रतिक्रिया