मोटरसाइकल एम्बुलेन्स सञ्चालन गर्दै काठमाडौं महानगर


काठमाडौं, २० चैत । काठमाडौं महानगरपालिकाले दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने भएको छ । कतिपय साघुरो बाटोका कारण बिरामी भएका ठाउँमा चारपाङ्ग्रे एम्बुलेन्स पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै महानगरले मोटरसाइकल एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो ।

काठमाडौंका कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै दुईपाङ्ग्रे एम्बुलेन्स सञ्चालन गर्न लागिको हो । मोटरसाइकल एम्बुलेन्स सञ्चालनमा ल्याउनेबारे सम्बन्ध भएका निकायसँग छलफल गरिसकेको उनको भनाई छ ।

डङ्गोलले एम्बुलेन्स सञ्चालनको वैज्ञानिकताका लागि अध्ययन गर्नुपर्ने बताउँदै जटिल स्वास्थ्य अवस्था आएर आपत् सृजना भएका ठाउँमा स्वास्थ्यकर्मीलाई छिटो पुग्नका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी रहेको जानकारी दिनुभयो ।

कामपाले एम्बुलेन्स सेवा भने २०७६ वैशाखबाट नै अत्यावश्यक पर्दा निःशुल्क सेवा सञ्चालन गर्दै आएको छ । अहिले कामपाको सातवटा एम्बुलेन्सले निःशुल्क सेवा दिदै आएका छन् । महानगरको तथ्याङक अनुसार ८४ हजार ४८९ जना बिरामीलाई सेवा प्रदान गरिएको छ । यस क्रममा ६९ जना गर्भवतीले एम्बुलेन्समै बच्चालाई जन्म दिएका छन् । महानगरको एन्बुलेन्सले कोभिड–१९ का समयमा २३ हजार ५०० जनालाई सेवा प्रदान गरिएको थियो ।