काठमाडौं, चैत २० । आज नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक बस्दैछ । पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा संसदीय दलको नेता रामबहादुर थापाले हिजोको प्रतिनिधिसभाको पहिलो बैठकमा व्यक्त गरेको अभिव्यक्तिबारे गम्भीरतापूर्वक छलफल हुने जनाइएको छ । एमाले संसदीय दलका नेता थापाले हिजो प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनप्रति पार्टीभित्र असन्तुष्टि बढेपछि आज सचिवालय बैठक डाकिएको हो ।
हिजो पार्टी उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालमा लेख्दै थापाको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत रहेको, अभिव्यक्ति पार्टीको नीति र विचारसँग नमिल्दो रहेको जनाएका थिए । उपमहासचिव योगेश भट्टराई, नेता सुरेन्द्र पाण्डे लगायतले पनि थापाको भनाईप्रति आपत्ती जनाएका छन् ।
‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमालेको दल नेताको हैसियतले मा.रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन् । यस सम्बन्धमा भोलि आयोजना गरिएको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।’
पार्टी नेतृत्वको चर्को दवावमा बुधबार मात्र दलको नेता चयन भएका बादलले पार्टीको नीति विपरीत बोलेको भन्दै कारबाही गर्न पार्टीभित्र नेताहरूले दवाव बढाएका छन्। पार्टी उपाध्यक्ष समेत रहेका बादलले नेपाली सेना लगायतमाथि आरोप लगाउँदै प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका थिए । एमालेले लिँदै आएका शासकीय अडानहरूको विपरीत हुनेगरी बादलले नेपाली सेना, कर्मचारीदेखि विदेशी निकायहरूलाई समेत आरोपित गरेका थिए। उनको यो अभिव्यक्तिले पार्टीमा अहिले भूकम्प ल्याएको छ।




प्रतिक्रिया