काठमाडौं, चैत २० । नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले पनि पार्टी संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापाले बिहीबार संसदमा गरेको सम्बोधनप्रति असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता पाण्डेले आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम बन्द गर्न आग्रह गरेका छन् । भदौ २३–२४ छानबिन हुनुपर्नेमा सहमती जनाउँदै नेता पाण्डेले एमालेको राजनीतिले जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्न नहुने स्पष्ट पारेका छन् ।
उनले भनेका छन्– ‘हिजो संसदमा “षड्यन्त्र”का लामा कथाहरू सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो-सबै दोष अरूलाई! हामी पनि दोषी छौँ । यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र रु अब यो ‘घेराबन्दी’मा पर्यौँ भन्ने “राष्ट्रवादी” राजनीति निकै पुरानो भयो। अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन्।’
एमाले संसदीय दलका नेता थापाले हिजो प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनप्रति पार्टीभित्र असन्तुष्टि बढेपछि आज सचिवालय बैठक डाकिएको छ। थापाको अभिव्यक्तिबारे पार्टी उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई लगायतले पनि आपत्ती जनाएका छन् ।




प्रतिक्रिया