इन्धनको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि, पेट्रोलको मूल्य २०० पुग्यो


काठमाडौँ, २० चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। भारतबाट प्रत्येक १५ दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ कायम भएको छ। यद्यपि एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।

मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ, डिजेलमा १२० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ४१६ रुपैयाँभन्दा बढी घाटा रहेको छ। नयाँ मूल्य कायम हुँदा पनि निगमले पाक्षिक रूपमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरेको छ।