काठमाडौं, २० चैत । नेपाली कांग्रेसका नेता मधु आचार्यले सरकारको प्राथमिकतामा स्वास्थ्य विमा नपर्नु गरिबीमाथिको मजाक रहेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य विमा कार्यक्रमलाई अझ उन्नत र गरिबमैत्री बनाउनुपर्नेमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको प्राथमिकताभित्र नै नपरेको बताएका हुन् ।
‘गरिबीमाथि खेलवाड गर्ने, जनताले पाउने सेवा र सुविधामाथि एउटा वा अर्को ढंगले आक्रमण गर्ने कुरा नेपाली जनताले सहँदैन । स्वास्थ्य विमा कार्यक्रमलाई अझ ज्याद उन्नत गर्नुपर्ने, अझ गरिबी सेवामा यसलाई केन्द्रीत गर्नुपर्ने, गरिबमैत्री बनाउनुपर्ने कुरालाई छोडेर सरकारको प्राथमिकताभित्र स्वास्थ्य विमा नै नपर्नु यो गरिबीमाथिको मजाकबाहेक केही होइन । यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौं,’ नेता आचार्यले भने ।
नेता आचार्यले सरकारको प्रारम्भिक चापहरु नै अधिनायकवादउन्मुख रहेको बताए । सरकारले जेष्ठ नागरिकले पाउँदै आएको भत्तामाथि पनि सरकारको बक्रदृष्टि पर्न खोजेको बताए । उनले यो आफूहरुका लागि स्वीकार्य नरहेको बताए ।
साथै सरकारले सरकारी विज्ञापन सरकारी मिडियालाई मात्र दिने निर्णय गरेर प्रेस स्वतन्त्रतामाथि नै धावा बोल्न खोजेको पनि उनले टिप्पणी गरे । सरकार मिडिया स्वतन्त्रतामाथि नियन्त्रण गर्ने र विचार स्वतन्त्रतामाथि आक्रमण गर्ने शैलीमा उत्रेको पनि नेता आचार्यले टिप्पणी गरे ।
‘सरकारी विज्ञापन सरकारी मिडियालाई मात्र दिने भन्ने कुराले बिस्तार मिडियाको स्वतन्त्रतामाथि नै धावा बोल्ने काम, आर्थिक नाकाबन्दी गरेर मिडिया स्वतन्त्रतामाथि सरकारले नियन्त्रण गर्ने कुरा र प्रकारान्तरमा विचारको स्वतन्त्रतामाथि नै आक्रमण गर्ने शैलीमा सरकार उत्रेको देखिन्छ,’ उनले भने ।




प्रतिक्रिया