बजेटको मस्यौदा तयार गर्न पाँच सदस्यिय समिति गठन


काठमाडौं, चैत २१ । सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट तथा कार्यक्रम तयारीका लागि बजेट लेखन समिति बनाएको छ । अर्थ मन्त्रालयले जेठ १५ मा संघीय संसद्मा प्रस्तुत गर्ने नयाँ बजेटका लागि बजेट वक्तव्य, विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता र नीति तथा कार्यक्रमसँग सम्बन्धित तयारी कार्य गर्न पाँच सदस्यिय समिति गठन गरेको हो

समितिको संयोजकमा राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्री रहेका छन् भने सदस्यहरू बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल रहेका छन् ।

समितिका मुख्य कार्यक्षेत्र सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने, आउँदो आर्थिक वर्षमा कार्यान्वयन गरिने आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण गर्न सहजीकरण गर्ने, संसद्को दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्नेलगायत छन् ।