सरकारको कदमको प्रशंसा गर्दै प्रसाईंले भने ‘आफैँ प्रधानमन्त्री भएको अनुभूति भएको छ’


काठमाडौं, चैत २१ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले सरकारले चालेका भ्रष्टाचार, तस्करी र विचौलिया विरुद्धको कदमको प्रशंसा गरेका छन् । सरकारको कदमले आफूलाई आफैँ प्रधानमन्त्री भएको अनुभूति भएको पनि उनले बताएका छन् ।

आज (शनिबार) भिडिओ सन्देश जारी गर्दै प्रसाईले आफूले विगत चार वर्षदेखि उठाउँदै आएका विषयहरूमा सरकारले कारबाही अगाडि बढाएको बताएका छन् । ‘विगत चार वर्षदेखि मैले निरन्तर रुपमा देशका तस्करहरू, भ्रष्टाचारीहरूको विषयमा सडकमा ३०० इन्चका एलइडी लगाएर भिडियो सार्वजनिक गरेँ । जुम्लासम्म पनि १० लाख खर्च गरेर तस्करहरूको फोटो सार्वजनिक गरेँ,’ प्रसाईंले भनेका छन् ।

प्रसाईंले देशका १६ मारवाडी परिवार र १० नेपाली बिचौलिया दलाल परिवारले मिलेर बैंक, वित्तीय संस्था, सहकारी, लघुवित्तदेखि विदेशबाट आउने रेमिटेन्ससम्म कब्जा गरेर देशलाई सखाप पारेको समेत दाबी गरेका छन् ।

सरकारले पछिल्लो समय व्यवसायी दीपक भट्ट, शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिसकेको छ । केही प्रतिष्ठित घरानाका व्यसायीहरुलाई समेत पक्राउ गर्ने सरकारको तयारी रहेको बताइएको छ ।