अर्काे चुनावको लागि मतदाता नामावली सङ्कलन हुँदै


काठमाडौं, २२ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली सङ्कलनको काम आजदेखि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार गत मङ्सिर ६ गतेदेखि स्थगित नामावली सङ्कलनको काम पुनः सुरु गरिएको हो । आयोगको चैत १८ को बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण स्थगित भएको मतदाता नामावली सङ्कलनको काम पुनः सुरु गर्ने निर्णय गरेको हो ।

आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा भने आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्न सकिनेछ । त्यसका लागि आफ्नो फोटो तथा औठाछापसहितको जैविक विवरण प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्ने आयोगले जनाएको छ । 

आजदेखि मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था समेत मिलाइएको छ ।