काठमाडौं, चैत २२ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हाल देशभर बादल लागेको छ । उक्त प्रभावका कारण अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ ।
देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ÷असिना÷हुरीबताससहित मध्यम वर्षा र हिमपात तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । त्यस्तै, मधेस र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हुरीबतासको समेत सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभाग, कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार राति मधेस र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको छ ।




प्रतिक्रिया