‘सरकारले हप्तामा दुई दिन विदा दिनु भनेको यो देश समाप्त गर्नु हो’


२२ चैत, काठमाडौं । अर्थविद् प्रा.डा. गोपीलाल न्योपानेले सरकारले हप्तामा दुई दिन विदा दिनु गलत भएको बताएका छन् ।

आइतबार रिपोर्टस नेपालमा ‘मध्यपूर्वीय द्वन्द्वले रेमिट्यान्स, इन्धन र महँगीमार्फत नेपालको अर्थतन्त्रमा उत्पन्न संकट समाधानका उपाय र सरकारको आर्थिक रणनीति कति विश्वसनीय नामक साक्षात्कार कार्यक्रममा’ बोल्दै उनले सरकारले हप्तामा दुई दिन विदा दिने निर्णय गर्नु भनेको देशलाई सुताउनेतर्फ लगिएको आरोप लगाए ।

‘नेपालमा विभिन्न किसिमका विदा धेरै हुँदाहुँदै पनि फेरि आइतबार पनि विदा दिनु भनेको देशलाई समाप्त गर्नु हो,’ उनले भने ‘नेपालले पेट्रोलियम आयात भारतबाट गर्छ,भारतले रसियाबाट लिन्छ । भारतमा मुल्य बढेको छैन तर नेपालमा बढ्यो ।’

उनले पेट्रोलियम पदार्थको मुल्य खाडी देशमा मात्रै बढेको र रसियनमा नबढेको दावी गरे । नेपालले खाडी नभएर रसियन तेल ल्याउने गरेको उनको भनाइ छ ।

डा. न्योपानेले सरकार उल्टो दिशामा हिँडेको समेत आरोप लगाएका छन् । सरकारले बहुमतको दम्भमा व्यापारीलाई त्रसित गराइराखेको उनले बताए ।

सरकारले पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण हप्तामा दुई दिन विदा दिने निर्णय गर्नुपरको जानकारी दिएको छ ।