बालेनको प्रतिशोधपूर्ण कदम अदालतले मानेन, एमाले नेतृ शर्माले बालिकालाई दास नबनाएको ठहर


काठमाडौं, २२ चैत । काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले नेकपा (एमाले) की नेतृ एवं लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । प्रदेशसभा सदस्य शर्मामाथि लगाइएको दास बनाइ राखेको भन्ने आरोप तथ्य पुष्टि गर्ने वस्तुनिष्ठ र निश्चयात्मक प्रतितलायक प्रमाण मिसिल संलग्न रहेको नदेखिएको भन्दै न्यायाधीश पौडेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।

हालका प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर रहेकै बेलामा सांसद शर्मामाथि एक बालिकालाई दास बनाइ राखिएको आरोप लागेको थियो । उक्त मुद्दामा सांसद शर्मालाई कानूनी दायरामा ल्याउन आफू मेयर भएको बेलामा बालेनले सकेसम्मको प्रयास गरेका थिए । तर, त्यो बेलामा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले सांसद शर्मामाथि मुद्दा चलाउनुपर्ने आधार र कारण नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो ।

बालेन प्रधानमन्त्री भएलगत्तै प्रतिशोधपूर्ण तरिकाले एमाले नेतृ एवं प्रदेशसभा सदस्य शर्मालाई पक्राउ गरिएको थियो । आज (आइतबार) म्याद थप प्रयोजनार्थ एमाले नेतृ शर्मालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पौडेलको इजलासले भनेको छ, ‘मिसिल संलग्न कागजातहरु हेर्दा पीडितको पढाइ निरन्तर रहेको र प्रतिवादीले संरक्षकको भूमिका पूरा गर्दै आएको देखिएको, शंकित रेखा कुमारी शर्माले पीडितलाई यातना दिइ, दास बनाइ राखेको हुन् भन्ने आरोपित तथ्य पुष्टि गर्ने वस्तुनिष्ठ र निश्चयात्मक प्रतितलायक प्रमाण मिसिल संलग्न रहेको नदेखिएको ।’

न्यायाधीश पौडेलको इजलासले एमाले नेतृ शर्मा उपर दास बनाउन नहुने कसुरमा मुद्दा चलाउनुपर्ने अवस्था नदेखिएकाले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र उच्च सरकारी वकिल कार्यालय पाटनबाट शंकित रेखा कुमारी शर्माको हकमा प्रस्तुत दास बनाउन नहुने मुद्दा नचलाउने गरी भएको निर्णय तथ्य र कानूनसम्मत रहेको पनि बताएको छ ।

महान्यायाधिवक्ताको कार्यालयबाट मिति २०८०।०२।१६ मा निर्णय भइसकेको विषयमा पुनः सोही विषयमा एमाले नेतृ शर्मालाई थुनामै राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिँएको अदालतको ठहर छ । एमाले नेतृ शर्मालाई हिरासत मुक्त गरी मुद्दाको अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।