विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ भन्दै श्रमदानका लागि दार्चुला हिँडे हर्क


काठमाडौं, चैत २३ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ श्रमदानमार्फत पुल निर्माण गर्न दार्चुलातर्फ लागेका छन्। आज बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत आफू पुल बनाउन दार्चुलातर्फ लागेको र नागरिकलाई श्रमदानका लागि जुट्न समेत आह्वान गरेका छन्।

उनले विकास निर्माणका लागि वैदेशिक ऋणमा भर पर्नुभन्दा स्वदेशी पसिना र जनशक्तिको परिचालन गर्नुपर्नेमा जोड दिँदै लेखेका छन्, “म त लागें है दार्चुला १ आउनु है श्रमदान गरेर पुल बनाउन,” राईले भनेका छन्, “विदेशी ऋण–सिन लिइँदैन आफू त । म त लागें ।”

धरान उपमहानगरपालिकाको मेयर हुँदादेखि नै श्रम संस्कृतिको अभियान चलाउँदै आएका उनी श्रमदानमार्फत झोलुङ्गे पुल बनाउन दार्चुलाको विकट बस्ती व्यास गाउँपालिका–२, दुम्लिङ पुग्नेछन् । यसअघि तुइन हटाएर महाकाली नदीमाथि नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गर्न प्राविधिक अध्ययन टोली पठाएका उनले अन्तर्राष्ट्रिय सीमानाकामा संरचना निर्माण गर्न दुई देशको सहमति चाहिने भएपछि सो टोलीले स्थानीय काठा दुम्लिङमा पुल निर्माण गर्ने भएको हो ।

स्थलगत अनुमगन निरीक्षण (नापजाँच) पछि काठा दुम्लिङको मल्लो दुम्लिङखोलामा ८० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि भोली हर्क नेतृत्वको टिमले पुलको शिलान्यास गर्ने योजना रहेको छ ।

पुल निर्माणका लागि आर्थिक सङ्कलन अभियान सञ्चालन गरेका हर्कलाई देश तथा विदेशमा रहेका नेपालीले हालसम्म एक करोड १२ लाख रुपैयाँ सहयोग गरेका छन् । हर्क १५ जना श्रमदातासहित दार्चुला जाने कार्यक्रम रहेको छ ।