ओली–लेखकको रिटमा आज सुनुवाइ, कहिले छुट्छन?


काठमाडौं, चैत २३ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गरी सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए। उक्त रिट निवेदन उपर हिजो आइतबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलले सुनुवाइ सुरु गर्दागर्दै समय अभावका कारण हेर्दाहेर्दैमा राखेको थियो। जिल्ला अदालत काठमाडौंले ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न तेस्रो पटक पाँच दिनको म्याद थप गरेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार पाँच दिन म्याद थप गरेका हुन् । यसअघि, न्यायाधीश मेघराज पोखरेलको इजलासले अध्यक्ष ओली र न्यायाधीश कुमार रेग्मीको इजलासले नेता लेखकको यही चैत १६ गतेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको थियो।

रिट निवेदनमा गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको उल्लेख गरिएको छ। भदौ २३ र २४ गतेको आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।