संसदीय दलको नेता चयन गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौं, चैत २३ । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । अहिले बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकले संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल गर्नेछ । कांग्रेस संसदीय दलको नेतामा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्कादेखि निस्कल राईसम्मको चर्चा भइरहेको छ ।

सभामुख चयन नगरुन्जेल जेष्ठ सदस्य केसीले संसद बैठक सन्चालन गर्दै आएका थिए । जसकारण कांग्रेसले ढिलो गरी दलको नेता चयन गर्न लागेको जनाएको छ । आइतबार डोलप्रसाद अर्याल सभामुख चयन भइसकेकाले अब अर्यालले नै प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेछन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको नेता चयन भएर प्रधानमन्त्री बनिसकेका छन् भने नेकपा (एमाले)ले रामबहादुर थापालाई, नेपाली कम्युनिस्ट पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानेन्द्र शाहीलाई दलको नेता चयन गरिसकेका छन् ।