देउवा र आरजुलाई रेड नोटिस जारी गरेर पक्राउ गर्नेसम्मको तयारी


काठमाडौं, चैत २३ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा.आरजू राणालाई रेड नोटिस जारी गरेर पक्राउको तयारी भइरहेको बताइएकाे छ । निर्वाचनको संघारमा सिंगापुर हुँदै हङकङ पुगेका देउवा दम्पत्तीको सम्पत्तिमाथि अनुसन्धान गर्न रेड नोटिस जारी गरेर पक्राउ गर्न तयारी अघि बढाएको स्राेतकाे दाबी छ । देउवा र उनका परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्तिबारे अनुसन्धान गर्न सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढाउन लागेको हो ।

सत्ताको आडमा अस्वभाविक र गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । स्रोतका अनुसार, यसअघि नै जुटाइएका सूचना र प्रमाणहरु संकलन गरेर अनुसन्धान थप अघि बढाउन देउवा दम्पत्तीलाई इन्टरपोलमा रेड नोटिस जारी गरेर नेपाल झिकाउने काम अघि बढेको छ ।

त्यस्तै, पछिल्लो एक/डेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिब ७३ रोपनी जग्गाको विवरणहरू संकलन भइसकेको स्रोतले जनाएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४, २०८२ मा बुढानिलकण्ठस्थित देउवाको घरमा भएको आगजनीमा ठूलो परिमाणमा नेपाली र विदेशी नोट जलेको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ । घटनास्थलबाट खरानी र नोटका टुक्रा संकलन गरी अनुसन्धान भइरहेको छ ।

देउवाको सचिवालयले भने उक्त दाबी कपोकल्पित भएको प्रतिक्रिया दिएपनि जलेको रकमको स्रोत र वैधताका विषयमा सम्पत्ति शुद्धीकरण विभागद्वारा छानबिनका लागि प्रमाण संकलन, घटनास्थलबाट नोटका टुक्रा र खरानी संकलन र समाजिक सञ्जालमा भाइरल भिडियोहरूबारे अनुसन्धानलाई भइरहेको छ ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले गत असोज ५ गते बुढानिलकण्ठस्थित जेनजी आन्दोलनमा आगजनी गरिएको देउवा निवासमा पुगेर मुचुल्का गरेर फर्केको थियो । हरिहरभवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहित बुढानिलकण्ठ पुगेको देउवाको घरमा डलर र नेपाली हजार, पाँच सयका नोटहरूका जलेको टुक्राहरू संकलन, जलेको घर र त्यसको अवस्था, रकम रहेको ठाउँ लगायतको मुचुल्का गरेको थियो ।

लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले देउवाका सालो तथा आरजु राणाका भाइ भूषण राणाको जावलाखेलपस्थित घरमा १३ असोजमा छापा मारेको थियो । सीआईबीले त्यसै दिन देउवाका सासु–ससुरा बस्ने घरमा पनि छापा मारेको थियो ।