काठमाडौँ, २३ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ।
सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्से सञ्चालक समितिको बैठकले सातामा पाँच दिन कारोबार कायम राख्न शुक्रबार बजार खोल्ने निर्णय गरेको हो। यससँगै अब आइतबार बजार बन्द रहनेछ भने शुक्रबार नियमित कारोबार हुनेछ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँ का अनुसार शुक्रबार कार्यालय समय साँझ ५ बजेसम्म रहनेछ र सोही दिन शेयर कारोबार पनि सञ्चालन हुनेछ। यसअघि पनि २०७९ सालमा सरकारले शनिबार र आइतबार बिदा दिएको बेला नेप्सेले शुक्रबार कारोबार सञ्चालन गरेको थियो।
हालै मन्त्रिपरिषद्को निर्णय अनुसार इन्धन खपत र वैदेशिक मुद्रा सञ्चितिमा परेको दबाबलाई मध्यनजर गर्दै आइतबार बिदा दिइएको हो, जसलाई अनुसरण गर्दै नेप्सेले लगानीकर्ताको हित र बजार सक्रियता कायम राख्न यो निर्णय गरेको जनाएको छ।




प्रतिक्रिया