काठमाडौं, २३ चैत । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै चैत २५ गते थुनामुक्त गर्न परमादेश जारी गरेको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटना छानविन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले ओली र लेखकलाई ज्यान सम्बन्धी कसूरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा ओली र लेखक गत चैत १४ गते विहान पक्राउ परेका थिए ।
सर्वोच्चबम न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले आज (सोमबार) काठमाडौं जिल्ला अदालतबाट पछिल्लो पटक थपिएको ५ दिनको म्याद २५ गते सकिने भएकाले सो अवधिभित्र अनुसन्धान सकेर वा म्याद सकिएलगत्तै ओली र लेखकलाई हिरासतमुक्त गर्न परमादेश जारी गरेको हो ।
मानवीय र विशिष्ट परिस्थितिका कारण ओली र लेखकलाई थुनामै राखेर अनुसन्धान गरिरहनु नपर्ने सर्वोच्चको ठहर छ। ओली र लेखक दुवै अहिले आफ्ना माता–पिताको निधनपश्चात्को आशौच (जुठो) बारिरहेको र ओली गम्भीर बिरामी भई शिक्षण अस्पतालमा उपचाररत रहेको विषयलाई प्रमुख आधार मान्दै सर्वोच्चले परमादेश जारी गरेको छ ।
त्यस्तै जेनजी आन्दोलनको घटनासँग जोडिएका काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल जोशी हाजिर जमानीमा छुटेको सन्दर्भमा पनि ओली र लेखकलाई मात्र थुनामा राख्नु न्यायोचित नहुने सर्वोच्चको ठहर छ ।








प्रतिक्रिया