काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवंम प्रतिनिधि सभा सदस्य युवराज दुलालले जनताले आफ्नो दललाई पूर्णरुपमा बहुमत नदिँदा जनताले अपेक्षा गरेअनुसारका कामहरु गर्न नसकेको प्रष्ट पारेका छन् । सोमबार प्राइम टाइम्स टेलिभिजनका लागि ऋषि थपलियासँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । विगतमा ३२ सीट ल्याएर आफ्नो पार्टीले सरकारको नेतृत्व गर्दासमेत ठूला-ठूला भ्रष्टाचारका काण्डहरुमा छानविन गरेर दोषीलाई कठघरामा उभ्याइएको स्मरण गर्दै दुलालले पार्टीलाई जनताले विश्वास गरे फेरीपनि त्यस्तै काम गर्ने दाबी गरे ।
‘हाम्रो पार्टीले विगतमा गरेको कामलाई जनताले मूल्यांकन गरेका छन् । भुटानी शरणार्थी प्रकरणदेखि गिरीबन्धु टी स्टेट, ललिता निवास जग्गा प्रकरण, बासबारी जग्गा प्रकरणमा हाम्रै पार्टीको सरकार हुँदा फाइल खोलिएको हो । सो प्रकरणमा मुछिएका कयन नेताहरु आज पनि जेलमा हुनुहुन्छ । तर, हाम्रो पार्टी सरकारमा हुँदा गरेको कामलाई जनतासमक्ष पुर्याउन नसक्दा हाम्रो जनमत कमजोर भएकै हो’ उनले भने ।
फरक प्रसंगमा नेकपाका प्रमुख सचेतक समेत रहेका नेता दुलालले आफ्नो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डमाथि सरकारले सम्पति शुद्धीकरणमा अनुसन्धान गरिरहेको भन्दै आपत्ति जनाएका छन् । नेता दुलालले विगतको संसद बैठकमा स्वयं प्रचण्डले नै सम्पत्ति छानबिन गर्ने प्रस्ताव अघि सारेको स्मरण गराउँदै अहिले आएर प्रचण्डको सम्पत्तिमाथि गरिएका टिकाटिप्पणीको कुनै अर्थ नरहेको प्रष्ट पारेका छन् । ‘प्रचण्डको सम्पत्ति नै के छ र ? प्रचण्डले नै संसद्को रोष्टमबाट अनुसन्धानको तिर मबाटै सुरु गरौं भन्नु भएको हो । प्रचण्डको चितवनमा एक कठ्ठा जग्गा छ । त्यसमा भएको एउटा घर हो । बाँकी प्रचण्डको सम्पत्ति त कसैले भएर, ल्याएर देखाएर छानविन गरे भईहाल्यो ?’ उनले भने ‘प्रचण्डमाथि विगतमा पनि विभिन्न आरोपहरु लगाउने काम भएकै हुन । भलै अहिले हामी सानो दल भएको कारण विभिन्न आरोप लाग्दै आएका छन् । त्यो कोषिष मात्रै हो , आरोप लगाउने तर, अहिअलेसम्म कसैलाई पनि केही त भएको छैन नि? म के चुनौती दिन चाहान्छु भने यदि कुनै कारणले प्रचण्ड चुकेको भए अहिलेसम्म प्रचण्डलाई कसैले बाँकी पनि राख्दैनथे । मिडिया ट्रायल गर्ने, जनमत बिर्गार्ने, प्रचण्डलाई एक्लो बनाउने प्रयास त विगतदेखि नै भएको हो’ ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा गठित वर्तमान सरकारले पूर्व प्रधानमन्त्रीत्रय प्रचण्डसहित केपी शर्मा ओली, शेरबहादुर देउवा तथा पूर्वमन्त्रीहरु आरजु राणा देउवा, दीपक खड्कालगायतको सम्पत्तिमाथि छानबिनको काम अघि बढाएको छ । पूर्व विशिष्ट पदाधिकारीहरुको सम्पत्तिमाथि धमाधम छानबिन चलिरहँदा नेकपाका नेता दुलालले भने सबैभन्दा पहिले प्रचण्डको सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिएका हुन् ।
२०८१ साल जेठमा सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार पूर्व प्रधामनन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ । स्वर्गीय धर्मपत्नी सीता दहालकको नाममा रहेको यो घर र जग्गा पैतृक सम्पत्ति भएको उनको सम्पत्ति विवरणमा उल्लेख थियो ।
भरतपुर महानगरपालिकामा स्वर्गीय दाहालको नाममा १ कठ्ठा जमिन रहेको र यो अंशबाट प्राप्त भएको उल्लेख थियो । प्रचण्डसँग ५ तोला सुन रहेको र, यो पनि पैतृक भएको विवरणमा उल्लेख छ । प्रचण्डले नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका थिए । सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख थियो । यद्यपि तत्कालीन समयमा सार्वजनिक गरिएको सो सम्पत्तिप्रति विभिन्न दलका नेता तथा कार्यकर्ताले विश्वास गरेका छैनन् । २०७३ सालमा प्रधानमन्त्री रहँदा सार्वजनिक गरिएको विवरण भन्दा २०८१ मा सार्वजनिक गरेको विवरणमा सम्पत्ति बढेको भन्दै वर्तमान सरकार गठनपछि प्रचण्डसहितका नेताहरुको सम्पत्ति छानबिन गरिनुपर्ने आवाज उठिरहेको छ ।




प्रतिक्रिया