दोधारा चाँदनी(कञ्चनपुर), २४ चैत । कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । पालिकाले धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ दिन लोको हो ।
पालिकाका कृषि अधिकृत दशरथ साउदका अनुसार चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उन्नत धानको बीउ वितरणका लागि कृषि समूह, सहकारीमार्फत किसानलाई उपलब्ध गराउने तयारी गरिएको छ । “हामीले सूचना आह्वान गरेका छौँ । आएका निवेदनका आधारमा किसान छनोट गरेर बीउ उपलब्ध गराउँछौँ”, उनले भने, “उनन्त धानको बीउबाट उत्पाकत्वमा वृद्धि हुने अपेक्षा छ ।” उनले किसानले पचास प्रतिशत व्यहोर्ने गरी पालिकाले पाँच लाख बजेट विनियोजन गरेको जानकारी दिए ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरले पनि धानको बीउ उत्पादनका लागि किसानलाई पचास प्रतिशत अनुदान दिन लागेको छ । केन्द्रका प्रमुख हरिप्रसाद पनेरुका अनुसार कृषि समूह, फार्म, सहकारीमार्फत किसानलाई उक्त अनुदान उपलब्ध गराउन लागिएको हो ।
कार्यालयले आगामी वैशाख ३ गतेभित्र आवेदन दिन किसानलाई आह्वान हरेको छ । पछिल्लो समय व्यवसायिक रूपमा कृषिमा लागेका किसानका लागि प्रदेश सरकार र स्थानीय पालिकाबाट अनुदान उपलब्ध हुँदै आएको छ ।




प्रतिक्रिया