कार्की आयोगको प्रतिवेदन अपूर्ण छ, सरकारले सस्तो लोकप्रियता नदेखाओस्ः नेकपा नेता पाण्डे (भिडियोसहित)


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता सोमप्रसाद पाण्डेले विगतका सरकारले जनताको अपेक्षालाई बुझ्न नसक्दाको परिणाम नै वर्तमानको बालेन शाह नेतृत्को सरकार भएको जिकिर गरेका छन् । मंगलबार नेपाली बहसका लागि पत्रकार खेम बमसँग कुराकानी गर्दै नेता पाण्डेले सो कुरा बताएका हुन । नेता पाण्डेले २०४६ सालभन्दा पछिका सरकारले धेरै राम्रो काम गर्ने प्रयास गरेको भएपनि जनताको अपेक्षाअनुसार नभएको र जनता राजनीतिक दलप्रति निरास भएर रास्वपातिर ढल्किएको बताएका छन् ।

‘अहिलेको सरकारसँग जनताले धेरै आशा पनि गरेका छन् । केही नयाँ आशाका कामहरु पनि भएका छन् । तर, जनताले धेरै ध्यान पुर्याएर काम गनुृपर्ने देखिन्छ । भाद्रमा भएको जेनजी विद्रोहको आरोपमा केही व्यक्तिहर पक्राउ पर्नुभएको छ । त्यसमा केही ध्यान पुर्याउनुपर्ने देखिन्छ । यसबारेमा सरकारलाई हामीले खबरदारी गर्नुपर्नेछ । अहिले जे भइरहेका छन् । यसले केही संकेत भने गरेको छ । हामी के चाहिरहेका छौं भने नयाँ सरकारभित्र प्रतिशोधको भावना आयो र जनता बिर्सने अवस्था बन्यो भने देशका लागि नयाँ दूर्भाग्य हुनेछ ।’ उनले भने ।

पूर्व मन्त्रीसमेत रहेका नेता पाण्डे जेनजी घटना छानविन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले किटानसाथ कारबाही गर्नु भनेको भएमात्र कारबाही हुनुपर्ने बताए । उनले भदौं २३ को आन्दोलन सकारात्मक भएपनि २४ गतेको विध्वंस पार्टीले कहिल्यै पनि भुल्न नसक्ने बताए । ‘मुलुकका धेरै सरचना जलाईए । भदौं २४ गते सर्वोच्च अदालत जलाईयो । नेपालीहरुको स्वाधिनता र स्वाभिमान बोकेका दस्तावेज थिए । ती जलाईयो यो कुरा हामी स्वीकार गर्न सक्दैनौं ।, कार्की आयोगको प्रतिवेदन आफैंमा अपूर्ण छ । भदौं २४ को घटनालाई उक्त आयोगले कुनै पनि छानबिन गरेको छैन । यो सबैभन्दा ठूलो कमजोरी हो ।’ उनले भने ।

नेता पाण्डेले कार्की आयोगको प्रतिवेदनलाई आधार मानेर सस्तो लोकप्रियताका लागि प्रतिशोध साँध्ने काम गर्न नहुने बताए । ‘दीर्घकालीन रुपमा मुलुक र जनताको हितमा काम गर्नुपर्छ । त्यो तर्फ काम गर्नुपर्छ । केही केही शंका उब्जिएका छन् । त्यस्तो हुन हुँदैन’ उनले भने ।