वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ


काठमाडौं, २४ चैत। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर गोदावारी नगरपालिका-१२ बस्ने २५ वर्षीय आयुष कार्की र काठमाडौं महानगरपालिका-३१ बस्ने डोटी घर भएका २७ वर्षीय किरण ताम्राकार रहेका छन् ।

पक्राउ मध्ये आयुषले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख ९० हजार रूपैयाँ र किरणले जर्जिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आयुषलाई ललितपुर गोदावरी नगरपालिका-१२ बाट र किरणलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।