देउवा नेपाल नफर्किन सक्ने अड्कलबाजी सुरु, यसो भन्छन् कांग्रेस नेता…


काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा.आरजू राणा यतिबेला हङकङमा छन् । निर्वाचनको संघारमा सिंगापुर गएका देउवा उतैबाट हङकङ पुगेका हुन् ।

देउवा दम्पत्तिमात्रै नभएर उनीहरुका छोरा बुहारी पनि विदेशमा नै छन् । पछिल्लो समय देउवा र देउवा पत्नी राणाको सम्पत्तिमाथि छानविनको हल्ला चलिरहेको छ ।

सम्पत्ति छानविनका लागि देउवा दम्पत्तिलाई अनुसन्धान गर्न रेड नोटिस जारी गरेर पक्राउ गरी नेपाल ल्याउनेसम्मको तयारीमा सरकार रहेको स्रोतको दाबी छ । देउवा र उनका परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्तिबारे अनुसन्धान गर्न सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढाउन लागेको हो ।

सत्ताको आडमा अस्वभाविक र गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो ।

त्यस्तै, पछिल्लो एकरडेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिब ७३ रोपनी जग्गाको विवरणहरू संकलन भइसकेको स्रोतले जनाएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४, २०८२ मा बुढानिलकण्ठस्थित देउवाको घरमा भएको आगजनीमा ठूलो परिमाणमा नेपाली र विदेशी नोट जलेको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ । घटनास्थलबाट खरानी र नोटका टुक्रा संकलन गरी अनुसन्धान भइरहेको छ ।

कांग्रेस नेता प्रकाशशरण महत आफूलाई देउवा परिवार कहिले नेपाल फर्किने भन्नेमा कुनै जानकारी नरहेको बताउँछन् । महत देउवाका विश्वास पात्र र निकट मानिन्छन् । मतगणनाको क्रममा देउवासँग आफ्नो एक पटक फोन सम्पर्क भएको र त्यो पनि उनी सम्पर्कमा नरहेको नेता महतले बताए ।

यता सर्वसाधारण नागरिकहरुले भने अब देउवा दम्पत्ति प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार रहेसम्म उतै बस्न सक्ने आँकलन गर्न थालेका छन् । देशमा उत्पन्न विषम परिस्थितिका कारण सत्ताबाट पाखा लागेका देउवा सम्भाविन कारबाही छल्न निर्वासन (विदेश) मा बस्ने धेरैको आँकलन छ ।