इजरायलमा रहेका नेपालीका लागि आठबुँदे निर्देशन जारी


इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकहरूका लागि ‘अत्यन्त जरुरी सूचना’ जारी गरेको छ। दूतावासले मंगलबार जारी गरेको सूचनाअनुसार मध्यपूर्वमा जारी युद्धलाई ध्यान दिँदै इजरायलका विभिन्न स्थानमा रहेका नेपालीहरूलाई निम्न कुरा पालना गर्न अनुरोध गरिएको हो ।

-संयमता अपनाई हाल बसोबास गरिरहेको स्थानमा सतर्क र सुरक्षित रूपमा रहनू

-होम फ्रन्ट कमान्डलगायत इजरायल सरकार एवं इजरायल सरकारको आधिकारिक निकायद्वारा जारी सूचना र निर्देशन पालना गर्नू

-अलर्ट एसएमएस आएमा तथा साइरन बजेमा हेलचेक्र्याइँ नगरी समयभित्रै आफू नजिक रहेको बम्ब सेल्टरमा अनिवार्य रूपमा जानू

-आफ्नो राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र, बैंक कार्डलगायतका कागजात आफ्नो साथमा राख्नू

-विकसित घट्नाक्रमबारे नियमित रूपमा अद्यावधिक जानकारी राख्नू

-सामाजिक सञ्जालमा देखिएका युद्धसम्बन्धी भिडिओ सेयर नगर्नू

-साथीभाइ, परिवार तथा आफन्तसँग नियमित सम्पर्कमा रहनू

-आपत्‌कालीन अवस्थामा नेपाली राजदूतावासको सहयोगका लागि यी नम्बरमा सम्पर्क गर्नू
१. कुमारबहादुर श्रेष्ठ, द्वितीय सचिव, सम्पर्क नं. +९७२५३५३६०७४८ (972535360748)
२. सञ्जयकुमार शाह, तृतीय सचिव, सम्पर्क नं. +९७२५४५५८२०७७ (972 54 558 2077)