प्रधानमन्त्री-राजदूत सामूहिक भेटघाट : मिश्रले उठाए कूटनीतिक आचारसंहितामा प्रश्न, दिए मर्यादाबारे १३ सुझाव


काठमाडौं, चैत २५ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित सबै राजदूतहरूसँग सामूहिक भेटघाट गर्ने तयारी गरिरहेका बेला राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कूटनीतिक आचारसंहिताको विषय उठाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित सबै राजदूतहरूसँग गर्न लागेको सामूहिक भेटको पृष्ठभूमिमा तत्कालीन विवेकशील साझा पार्टीले जारी गरेको कूटनीतिक निर्देशिका रास्वपाका लागि पनि राम्रो सन्दर्भ सामग्री हुनसक्ने बताउँदै प्रधानमन्त्रीलाई १३ वटा सुझाव दिएका छन् ।

उनले तत्कालीन विवेकशील साझा पार्टीले २०७६ जेठ ३१ मा जारी गरेको १३ बुँदे कूटनीतिक निर्देशिकालाई अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक सामग्रीका रूपमा प्रस्तुत गरेका हुन्। उनका अनुसार यो निर्देशिका खासगरी दलका नेताहरू र विदेशी कूटनीतिज्ञहरूबिच हुने अपारदर्शी सम्बन्ध र त्यसले निम्त्याउने राजनीतिक चलखेललाई रोक्न तयार पारिएको थियो।

निर्देशिकाले पार्टीका केन्द्रीय सदस्यहरूका लागि विदेशी दूतावास, नियोग र प्रतिनिधिहरूसँगको सम्बन्धलाई व्यवस्थित र मर्यादित बनाउने लक्ष्य राखेको थियो।

उनले एक्समा लेखेका छन्
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित सबै राजदूतहरूसँग गर्न लागेको सामूहिक भेटको पृष्ठभूमिमा तत्कालीन विवेकशील साझा पार्टीले जारी गरेको तलको कूटनीतिक निर्देशिका रास्वपाका लागि पनि राम्रो सन्दर्भ सामग्री हुनसक्छ।

विवेकशील साझा पार्टीले २०७६ जेठ ३१ (२०१९ जुन २४) मा जारी गरेको १३ बुँदे कूटनीतिक निर्देशिकाले पार्टीका केन्द्रीय समिति सदस्यहरूका लागि विदेशी दूतावास, कूटनीतिक नियोग र विदेशी प्रतिनिधिहरूसँगको भेटघाट तथा सम्बन्धलाई पारदर्शी, व्यवस्थित र सम्मानजनक बनाउने उद्देश्य राखेको थियो।

नेपालको राजनीतिमा दलका नेता र विदेशी कूटनीतिज्ञहरू बिचको अनावश्यक सम्बन्धले उत्पन्न गर्ने चलखेल र जटिलतालाई सम्बोधन गर्नु पनि सो निर्देशिकाको उद्देश्य थियो। अन्य दलहरूलाई पनि त्यस्तै अभ्यास गर्न आह्वान गरिएको थियो।

निर्देशिकाको पूर्णपाठ:

१. विदेश विभागको पूर्व स्वीकृति बिना वा औपचारिक कार्यक्रमबाहेक कुनै पनि दूतावासको अन्य कार्यक्रममा केन्द्रीय समिति सदस्यले भाग लिन पाउने छैनन्।

२. कुनै पनि विदेशी दूतावासका सदस्य वा विदेशीसँग राजनीतिक स्वभावको भेटघाट गर्न विदेश विभागको स्वीकृति अनिवार्य छ। त्यस्तो भेटघाटमा विदेश विभागले तोकेको अर्को नेता पनि उपस्थित हुनुपर्नेछ।

३. विदेश विभागले स्वीकृति दिएको कुनै पनि भेटघाट पार्टीको कार्यालय वा तटस्थ स्थानमा मात्र हुनेछ।

४. केन्द्रीय समिति सदस्यले आफ्नो निवासमा कुनै पनि राजदूत वा विदेशी कर्मचारीलाई आमन्त्रण गर्न पाउने छैनन्। यस्तो भेटघाट आवश्यक परेमा विदेश विभागको पूर्व स्वीकृति चाहिनेछ।

५. विदेश विभागले स्वीकृति दिएको विदेशी दूतावासका सदस्यसँगको भेटघाटबारे परराष्ट्र मन्त्रालयको सम्बन्धित डेस्कलाई सूचित गरिनेछ। आवश्यक परेमा मन्त्रालयको प्रतिनिधित्व अनुरोध गरिनेछ।

६. केन्द्रीय समिति सदस्यहरूलाई कुनै पनि गुप्तचर एजेन्सीका सदस्यहरूसँग भेटघाट गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

७. अप्रत्याशित भेटघाट भएमा तुरुन्तै पार्टीको विदेश विभागलाई सूचित गर्नुपर्नेछ।

८. कुनै पनि दूतावास वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पार्टीका केन्द्रीय नेतालाई राजनीतिक अर्थ वा प्रभाव भएको कार्यक्रममा प्रत्यक्ष निमन्त्रणा पठाएमा, उहाँले त्यस्तो निमन्त्रणा पार्टी मुख्यालय मार्फत पठाउन अनुरोध गर्नुपर्नेछ। विदेश विभागले निर्णय गर्नेछ कि कार्यक्रममा को सहभागी हुने।

९. राजनीतिक अर्थ नभएका कार्यक्रमका लागि विदेश विभागलाई साधारण सूचना दिए पुग्नेछ। यस्ता भेटघाट आफ्नै निर्णयमा गर्न सकिन्छ तर शंका लागेमा विदेश विभागसँग परामर्श गर्नुपर्नेछ।

१०. संवेदनशील विषयमा आवश्यक परेमा विदेश विभागले परराष्ट्र मन्त्रालय, स्वतन्त्र विदेश नीति विज्ञ वा पूर्व प्रोटोकल अधिकारीसँग सल्लाह लिन सक्नेछ।

११. यो निर्देशिकामा नसमेटिएका विषय वा जटिलता भएमा केन्द्रीय समिति सदस्यले विदेश विभागलाई सूचित गर्नुपर्नेछ र विभागले अन्तिम निर्णय गर्नेछ। निर्देशिकाको कार्यान्वयन स्तर पार्टी विस्तारसँगै निर्धारण हुनेछ।

१२. कुनै पनि दलले यस्तो निर्देशिका जारी नगरेकोले कार्यान्वयनमा कठिनाइ भएमा वा विदेशी सम्बन्धमा प्रभाव पर्न सक्ने भएमा केन्द्रीय सदस्यले विदेशी पक्षलाई यो निर्देशिकाले लगाएको सीमाको बारेमा बुझाउन सक्नेछन्।

१३. निर्देशिका उल्लङ्घन भएमा विदेश विभागले स्पष्टीकरण माग्न सक्नेछ र अनुसन्धानात्मक कारबाहीको सिफारिस गर्न सक्नेछ।