बजार अनुगमनमा तीन फर्मलाई जरिवाना


काठमाडौँ, २५ चैत । नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई जरिवाना गरेको छ ।

स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कुलेश्वरमा अवस्थित शंकर खाद्य किराना स्टोरलाई २० हजार जरिवाना गरेको छ ।

यस्तै, कुलेस्वरकै एमडिआर स्टोरलाई पनि २० हजार जरिवाना गरेको छ । गोंगबुमा रहेको गुप्ता गुदपाक भण्डारलाई पाँच हजार जरिवाना गरेको छ । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही गरिएको विभागले प्रष्ट पारेको छ ।

विभागले एकैदिन कूल ३९ वटा फर्ममा अनुमगन गरेकामा ३६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुको उपस्थितिमा विभागले नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको छ । रासस