काठमाडौँ, २५ चैत । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५८ औँ वार्षिक साधारणसभाको मिति नजिकिँदै गर्दा टेकुस्थित महासंघ सचिवालय र होटलका ‘लबी’हरूमा चुनावी अंकगणित सुरु भइसकेको छ। यसपटकको निर्वाचनमा एसोसिएट उपाध्यक्ष पदका लागि लोमस ग्रुपका सञ्चालक एवं सिटिजन्स बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेका छन्।
पारिवारिक व्यावसायिक विरासत, प्राविधिक पृष्ठभूमि र बैंकिङ क्षेत्रको सफल नेतृत्वका कारण पाण्डेको उम्मेदवारीलाई महासंघभित्र ‘अनुभव र आधुनिक व्यवस्थापनको संगम’ का रूपमा हेरिएको छ।
इन्जिनियरिङदेखि ‘बैंक अफ द इयर’ सम्मको यात्रा
इन्जिनियरिङ पृष्ठभूमि भएका पाण्डेको व्यवसायिक यात्रा नेपाल टेलिकमको सेवाबाट सुरु भएको थियो। तर, उनी सरकारी सेवामा मात्र सीमित रहेनन्। बुबा प्रदीपजंग पाण्डेले खडा गरेको लोमस ग्रुपको व्यावसायिक विरासतलाई उनले नयाँ उचाइमा पुर्याए।
पाण्डेको नेतृत्व कुशलताको पछिल्लो कडी उनले सम्हालिरहेको सिटिजन्स बैंक इन्टरनेसनल हो। चुनौतीपूर्ण आर्थिक अवस्थाका बीच पनि बैंकलाई ‘बैंक अफ द इयर २०२४’ को उपाधि दिलाउन सफल हुनुले उनको रणनीतिक क्षमतालाई पुष्टि गर्छ। औषधि, सिमेन्ट, ऊर्जा, खानी, बीमा र पर्यटन जस्ता बहुआयामिक क्षेत्रमा उनको लगानी र प्रत्यक्ष संलग्नता छ।
महासंघको राजनीति: त्यागदेखि तयारीसम्म
पाण्डे महासंघका लागि नयाँ अनुहार होइनन्। उनी तीन कार्यकाल कार्यकारिणी सदस्यका रूपमा निर्वाचित भएर नीति निर्माणको भित्री तहमा काम गरिसकेका व्यक्ति हुन्। अघिल्लो निर्वाचनमा पनि उनी उपाध्यक्षका मुख्य दावेदार थिए। तर, तत्कालीन समयमा समूह व्यवस्थापन र संगठनको एकताका लागि उनले आफ्नो दाबीलाई थाती राखेका थिए। यसपटक भने उनी १९ सदस्यीय सशक्त टिमसहित मैदानमा उत्रिएका छन्।
“मैले अघिल्लो पटक संगठनको बृहत्तर हितका लागि त्याग गरेको थिएँ,” पाण्डे भन्छन्, “अहिले निजी क्षेत्रको मनोबल इतिहासकै कमजोर मोडमा छ। यस्तो बेला तीन कार्यकालको अनुभव र निजी क्षेत्रले भोगेका समस्याको ठोस समाधानसहित मैले उम्मेदवारी दिएको हुँ।”
मुख्य एजेन्डा: नीतिगत स्थिरता र सुधार
वर्तमान अवस्थामा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन पाण्डेले सरकारसँगको ‘लबिइङ’ लाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। उनका मुख्य प्राथमिकताहरू निम्न छन्:
नीतिगत स्थिरता:सरकार परिवर्तनसँगै बदलिने आर्थिक नीतिले उद्योगी मारमा परेको भन्दै कम्तिमा १० वर्षको स्थिर नीतिको वकालत।
कर प्रणालीमा सुधार: आयकरको दर घटाउनुपर्ने र भ्याटलाई बहुदरमा वर्गीकरण गरी उत्पादनमूलक उद्योगलाई राहत दिनुपर्ने।
ऊर्जा सहुलियत:नेपालको विद्युत नेपालकै उद्योगमा सस्तो दरमा खपत गराई आयात प्रतिस्थापन गर्ने योजना।
समीकरण र नयाँ नेतृत्वको खोजी
आगामी चैत २८ र २९ गते हुने अधिवेशनले अञ्जन श्रेष्ठलाई स्वतः अध्यक्ष बनाउँदैछ। श्रेष्ठको समूहबाट पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्। महासंघभित्र पाण्डेलाई “स्पष्ट र निडर वक्ता” मानिन्छ, जसले तथ्यमा आधारित रहेर सरकारसँग संवाद गर्न सक्छन्।
पूर्वअध्यक्षको छोरा हुनुको नाताले उनलाई ‘विरासत’ को साथ त छ नै, तर उनले आफ्नो व्यक्तिगत पहिचान र व्यवसायिक सफलतामार्फत आफूलाई एक सक्षम र स्वतन्त्र नेतृत्वका रूपमा स्थापित गरेका छन्। नेपालको निजी क्षेत्रको ठूलो हिस्सा ओगट्ने एसोसिएट क्षेत्रबाट पाण्डेको उम्मेदवारीले यसपटकको निर्वाचनलाई थप रोचक र नतिजामुखी बनाउने अपेक्षा गरिएको छ।






प्रतिक्रिया