मिथिलामा साक्षरता तथ्याङ्क सङ्कलन


जनकपुरधाम, २५ चैत । धनुषाको मिथिला नगरपालिकाले सो पालिकाभित्रका साक्षर तथा निरक्षरहरूको आजबाट तथ्याङ्क सङ्कलन सुरु गरेको छ ।

उक्त नगरपालिकाले साक्षर घोषणा गर्ने उद्देश्यले तथ्याङ्क सङ्कलन सुरु गरेको सो पालिकाले जनाएको छ । साक्षरता मूल्याङ्कन निर्देशिका २०७० बमोजिम साक्षरका १२ सूचकमध्ये छवटा सूचकमा केन्द्रित भएर काम अगाडि बढाइएको सो पालिकाका शिक्षा शाखा प्रमुख सीता काफ्लेले जानकारी दिइन् ।

सो कार्यका लागि २५ जनालाई आवश्यक प्रशिक्षण प्रदान गरिएको तथा त्यसका लागि पालिकाको सबै वडा कार्यालय तथा विद्यालयलाई समन्वयात्मक भूमिका निर्वाह गरिदिन आग्रह गरीएको काफ्लेले बताइन् ।

साथै पालिकाअन्तर्गतका विद्यार्थीमार्फत घरघरमा पुगेर तथ्याङ्क सङ्कलनमा सहयोगका लागि आग्रह गरिएको उनले भनिन् । शिक्षा तथा मानव विकास केन्द्रले तोकेको विभिन्न १२ वटा बुँदामध्ये महत्त्वपूर्ण छवटा बुँदामा उल्लेख गरिएका विषयवस्तु पढ्न–लेखन सिकाउन सके नागरिकलाई साक्षर बनाउन सकिने काफ्लेको भनाइ छ ।