नेपाल राष्ट्र बैंकले बैंकहरूबाट २५ अर्ब रूपैयाँ तरलता व्यवस्थापनका लागि तान्दै


काठमाडौँ, २५ चैत । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूबाट २५ अर्ब रूपैयाँ निक्षेप तान्ने भएको छ । मध्यान्ह ३ बजे बोलकबोलमार्फत राष्ट्र बैंकले सो रकम ५६ दिनको अवधिका लागि तान्नेछ ।

यसमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । सहभागी संस्थाले आफ्नो ब्याजदर प्रस्ताव गर्नुपर्नेछ भने बहुबोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकता दिइनेछ । हाल बैंकहरूमा अधिक तरलता रहेको छ र राष्ट्र बैंकले यसलाई व्यवस्थापन गर्न पटक–पटक बोलकबोलमार्फत पैसा तानेको छ ।

आजको बोलकबोलमा बैंकहरूले १० करोड रूपैयाँको गुणकमा न्यूनतम १० करोडदेखि अधिकतम ५० करोडसम्म प्रस्ताव गर्न सक्नेछन् । राष्ट्र बैंकमा राखिएको निक्षेप अन्य बैंक वा वित्तीय संस्थामा धितोको रूपमा पनि प्रयोग गर्न सकिनेछ । ५६ दिनपछि अर्थात् जेठ २० मा मूलधन र ब्याज बैंकहरूलाई फिर्ता गरिनेछ । कम कर्जा माग भएका बेला यो उपाय बैंकहरूको तरलता व्यवस्थापनका लागि उपयुक्त विकल्प सावित हुने देखिन्छ।