काठमाडौँ, २५ चैत । राष्ट्रियसभाका सांसदले राष्ट्रिय हितका लागि दलबीच मेलमिलाप, सहमति र सहकार्यको आवश्यककता औँल्याएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले सबै राजनीतिक दल र नेताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा लाग्नुपर्नेमा जोड दिए ।
मुलुक र जनताको हितका लागि सबै दलबीच मेलमिलाप र सहमतिको आवश्यकता औँल्याउदै उनले मुलुकका सबै प्रजातान्त्रिक आन्दोलनमा कांग्रेसको नेतृत्वदायी भूमिका रहेको र कांग्रेसले सहमति र सहकार्यको नीति अपनाएको अवगत गराए ।
सांसद थापाले लोकतन्त्रको सुदृढिकरणका लागि वर्तमान सरकारले सहमति र सहकार्यको नीति अपनाउनुपर्ने सुझाए । उनले जलवायु परिवर्तनले नेपाल निकै प्रभावित भएको उल्लेख गर्दै यसका लागि अन्तरराष्ट्रिय मञ्चमा सशक्त कुरा उठाउनुपर्नेमा जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जयन्तीदेवी राईले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र दिने वर्तमान सरकारको निर्णय गलत र अलोतान्त्रिक भएको टिप्पणी गरिन् । साथै उनले यसले प्रेस स्वतन्त्रता हनन हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै यो निर्णय सच्च्याउन माग गरिन् ।
सांसद राईले पछिल्लो समय डिजिटल प्रविधिबाट किशोरीमाथि हुने हिंसाका घटना बढेको अवगत गराउँदै यसको नियन्त्रणका लागि सरकारसँग तत्काल र प्रभावकारी काम गर्न आग्रह गरिन् । साथै उनले अनलाइन र डिजिटल हिंसा नियन्त्रणका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयकलाई अघिबढाउन सरकारलाई सुझाव दिइन् ।
नेकपा (एमाले)का सांसद सम्झना देवकोटाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गरिएको गिरप्तारी गैरकानुनी भएको भन्दै तत्काल रिहाईको माग गरिन् । साथै उनले गत भदौ २३ र २४ गतेको आन्दोलनको घटनाका दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने माग गरिन् ।
जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व सफलता प्राप्त गरेको बताउँदै जनताले राजनीतिक स्थायित्व अपेक्षा गरेको उल्लेख गरे । उनले भ्रष्टचार नियन्त्रण, बढ्दो आयात र मंहगी नियन्त्रण, बन्द उद्योगको सञ्चालन, सन्तुलित पराष्ट्र नीति, सामाजिक न्याय कायम, जनताको हितअनुसार संविधान संशोधनलगायतकार्य सबै दलसँगको संवाद, सहमति र सहकार्यले गर्दा मात्र सफलता प्राप्त हुने बताए ।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले पश्चिम एसियामा भएको द्वन्द्वले मुलुकमा महंगी बढेको र जनजीवन प्रभावित भएको उल्लेख गर्दै सहजताका लागि आवश्यक पहल तत्काल थाल्न सरकारसँग आग्रह गरे । रासस




प्रतिक्रिया