चितवनको कालिका नगरपालिकाद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव


काठमाडौँ, २५ चैत । चितवनको कालिका नगरपालिकाले अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स सिटीसँग जिपिएस प्रणालीमार्फत घर नम्बर राख्ने तथा फोहर व्यवस्थापन, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा सहकार्यको प्रस्ताव गरेको छ ।

हाल अमेरिका भ्रमणमा रहेका कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले फेयरफ्याक्स सिटीकी मेयर क्याथरीन रिडसँग उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । सो क्रममा दुवै पालिकाबीच दिगो सम्बन्ध विस्तार गर्दै जाने सहमति गरिएको प्रमुख रेग्मीले जानकारी दिए । सो क्रममा प्रमुख रेग्मीले फेयरफ्याक्स सिटीको टेक्नोलोजी र उच्चतम विकासका ढाँचाबारेमा जानकारी लिँदै अनुभव आदानप्रदान गरिएको पनि बताए ।

प्रमुख रेग्मीले भने, “कालिका नगरपालिकामा कार्यान्वयन हुँदै गरेको घर नम्बरको जिपिएस प्रणालीका साथै फोहर व्यवस्थापन, स्वास्थ, शिक्षा, पुर्वाधार निर्माणलगायतका कार्यक्रमहरूमा सहकार्य गर्न प्रस्ताव गरेको छु, सो सम्बन्धमा सकारात्मक जवाफ प्राप्त भएको छ, निकट भविष्यमा सहकार्य हुने विश्वास लिएको छु ।”

साथै आगामी दिनहरूमा दुवै पालिका बीच सहकार्य गर्दै दिगो सम्बन्ध विस्तार गर्ने सहमति भएको पनि उनले बताए । सो क्रममा मेयर क्याथरीनले उपयुक्त समय मिलाएर आफू टिमसँगै नेपाल आउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रमको सहजीकरण प्राडा रामहरि सुवेदीले गरेका थिए । रासस