ओली र लेखकको बास आज पनि हिरासतमै


काठमाौं । जेनजी आन्दोलनको घटना छानविन गर्न गठित आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक आज पनि नछुट्ने भएका छन ।

सर्वोच्च अदालतका न्यायाधिशद्ववय बिनोद शर्मा र सुनिल कुमार पोखरेलले उनीहरूलाई चैत २५ भन्दा पछि हिरासत मुक्त गर्न आदेश गरेका थिए । सर्वोच्चले चैत २१ गतेबाट लागु हुनेगरी काठमाडौं जिल्ला अदालतबाट तेस्रोपटक म्याद थप गरिएको ५ दिनमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चल्ने र नचल्ने निर्णय भएमा सोही अनुसार गर्न र सो हुन नसकेतत्पश्चात् उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को प्रक्रिया पूरा गरेर हिरासतमुक्त गरी थप अनुसन्धानको काम सम्पन्न गर्न परमादेश जारी गरेको थियो ।

सरकारी वकिल कार्यालयको रायअनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले दुवैलाई आज रिहा नगर्ने निर्णय गरेको स्रोतले जनाएको छ । भदौ २३ को जेनजी आन्दोलनमा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नभएको आरोपमा १४ चैतमा ओली र लेखक पक्राउ परेका थिए । लेखक हाल पनि प्रहरी हिरासतमा नै छन् भने ओली स्वास्थ्यको कारण देखाउँदै अस्पतालमा भर्ना भएर बसेका छन् ।