‘कम्युनिष्टलाई थुक, समाजवादीलाई लखेट र वामपन्थीलाई घृणा गर’ जस्ता अभियान चल्नै बाँकी छ


घनश्याम भुसाल

वाम आन्दोलनमा अहिले एउटा असाधारण सन्नाटा छ । हामी सबैलाई थाहा छ, यो पराजयका सन्नाटा हो । यस पराजयको प्रभावको बारेमा कुरा गर्दै जाँदा एक जना कमरेडले मसँग भने( आजकाल म डिप्रेसनमा छु । छलफल गर्न खासै मन लाग्दैन । उनको यो वाक्यले मलाई धेरै वटा साँझ विहान तानिरह्यो । किनकी वाम आन्दोलनमा ती कमरेडको वौद्धिक र भावनात्मक प्रतिवद्धता धेरैका लागि उदाहरणीय छ । दोस्रो उनी आफैं स्वाथ्य उपचार क्षेत्रका शिक्षित व्यक्ति हुन् । त्यसैले डिप्रेसन के हो भन्ने उनलाई थाहा छ । उनले समेत म डिप्रेसनमा छु भनेपछि मेरो दिमागमा त्यो वाक्य बारम्बार प्रतिध्वनित भइरह्यो । यो वाक्यलाई आँखिझ्याल बनाएर निर्वाचनपछि मैले भेटेको ५०औं साथीहरुसँगको कुराकानीलाई हेर्दा त्यस्तो मनोदशा दुईचार जनामा मात्र होइन, आम रुपमा, सामुहिक रुपमा, सम्भवतः लाखौं मानिसमा छ भन्ने थाहा हुन्छ ।

कयन साथीहरुमा भावनात्मक शून्यता देखिन्छ । लामो कुराकानी हुन्छ, तर ठोस विषय बन्दैन । अब के हुन्छ भन्ने एकोहोरो प्रश्नबाहेक तिनका दिमागमा केही छैन । कयौंको अनुहारमा हतासापूर्ण प्रश्नहरुमात्रै छन् । उनीहरु छलफल गर्दैनन्, लगातार साना ठूला प्रश्नहरु मात्रै गर्छन् । कतिपयमा अज्ञात विषयको दुस्चिन्ता छ, एकखालको ऐठान छ । कतिमा आत्मसमर्पण र गौरवको अनुभूति र परिणामको विरोधाभासको छट्पटी छ । आन्दोलन बिगार्न कुनै दोष नभएका, त्यसको पराजयको राजनीतिक र सामाजिक उत्तर दिनुपर्ने ठाउँमा भएकाहरु मानसिक द्वन्द्वमा छन् । धेरै अगाडिदेखि बिग्रिरहेको परिस्थितिलाई बुझेका, आफ्नो ठाउँबाट प्रयन्त गरेका कतिपयमा जे हुनुथियो, ठीकै भयो भन्ने एकखालको दिक्दारीपूर्ण बदलाको धुँवा पनि देखिन्छ । ठूलो युद्धपछि हारेको मुलुकजस्तो भएको छ अहिलेको वामवृत्त ।

घटना के भयो सबैलाई थाहा छ । तर,  अब के हुन्छ ? अज्ञात छ, अनिश्चित छ । मात्रा फरक छ, तर यो डिप्रेसनको महामारीले सबैजसो वामपन्थीहरुलाई छोएको छ । खासगरी इमानदार वामपन्थीहरुमा डिप्रेसन छ, भयानक मानसिक आघात छ । यसै पनि वामपन्थीहरु बढी भावुक हुन्छन् । किनकी वामपन्थी हुनु र नहुनुमा फरक के छ भने आफ्नो स्वतन्त्रता जोसुकैले चाहन्छ । तर जब कुनै व्यक्तिले आफ्नो स्वतन्त्रतालाई अरुको स्वतन्त्रतासँग गाँस्न थाल्छ, त्यो वामपन्थी हुन थाल्छ । अर्थात् गरिब, पिछडिएका, विभेदमा परेका, न्याय नपाएकाहरुको स्वतन्त्रतासँग उसले आफूलाई गाँस्दै जाँदा वामपन्थी हुँदै जान्छ । त्यसैले वामपन्थी हुनु भनेको  कुनै विशुद्ध विज्ञान वा सामाजिक विज्ञानको वैज्ञानिक, विद्वान हुनु वा तर्कशास्त्री हुनुभन्दा फरक कुरा हो । जस्तो कि सबै वैज्ञानिक समाजवादी थिएनन् । तर, अल्बर्ट आइन्स्टाइन र कयौं ठूला वैज्ञानिकहरु समाजवादी थिए, अहिले पनि छन् । किनकी उनीहरु मनुष्य जातिको दुःखको बारेमा सोच्थे र अहिले पनि सोच्छन् । अर्थात् जब व्यक्तिले समस्त मानवजातिका प्रति दायित्व बोध गर्न थाल्छ, तब ऊ वामपन्थी र समाजवादी बन्दैजान्छ । त्यस्तो दायित्वबोधले मानिसलाई बढी भावुक बनाउँछ ।

समाजको साहित्य, मान्छेको गीत, जीवनको कविता, युद्धविरोधी नारा, मानव पुर्खाको गाथा, मुक्तिको जारण, न्यायको प्रवचन आदिले मानिसलाई अझ प्रतिवद्ध वामपन्थी बनाउँदै लैजान्छ । अरुको दुःखमा रुन, चिन्तित् हुन, आँत्तिन बानी पार्छ । नापाम भनिने विषालु ग्यासको पीडाले छट्पट्टिदै बाटोमा नाङ्गै डौडिरहेकी भियतनामी बालिका वा सुडानमा मर्न लागेको बच्चा र त्यसको मृत्युको क्षण पर्खिँदै गरेको गिद्दको फोटोले तपाईँलाई सपनामा पनि झस्काउँछ । गाँजामा एक गाँस खानका लागि भाँचिएका खुट्टा लतार्दै चिच्याइरहेका बच्चाहरु, तिनका व्याकूल विधवा आमाहरु, युक्रेन वा इरानमाथि थुपरिएको युद्ध र सर्वनास, गोरा पुलिसले घाँटीमा घुँडा धसेर घिटिघिटी बनाएर मार्दै गरेको कालो अमेरिकी जर्ज फ्लोइडजस्ता घटना देखेर, सुनेर भाउन्न हुन सिकाउँछ । अन्टार्कटिकामा वा सगरमाथामा हिउँ पग्लिँदा वा समुद्धि सतह बढ्दा हाम्रा सन्तानको जीवनप्रति चिन्तित हुन सकिाउँछ । यस्तै यस्तै कुराले वामपन्थीहरुलाई सताउँछ, उद्देलित पार्छ । त्यसैले वामपन्थीहरु भावुक हुनु स्वभाविक हो ।

अहिलेको सन्नाटाको प्रत्यक्ष कारण छ । गएका ८ वर्षमा नै कम्युनिष्ट  पार्टीले संसदीय निर्वाचनमा नराम्रो भविष्यको सामना गर्दैछ भन्ने तथ्याङ्क देखिन्छ । २०७४ सालमा ४८ प्रतिशत जनमत पाएको कम्युनिष्ट पार्टीले २०७९ सालमा ४३ प्रतिशत र अहिले चानचुन २२ प्रतिशतमा झरेका छन् । ओरालो यात्रा कति बेगमा छ भने २०७४ देखि २०७९ का ५ वर्षमा ५ प्रतिशतले घटेको भोट २०७९ देखि २०८२ सम्मको ३ वर्षमा एकैचोटी २१ प्रतिशतले घटेको छ । हामीले बिर्सन खोजे पनि, विर्सेजस्तो गरे पनि यी तथ्यका घन हाम्रो मथिङ्गलमा बज्रिदा हरेक पटक हामी तिल्मिलाउँछौं । यसको उत्तर मसँग मात्रै छैन भन्दा तिल्मिलाउन पर्दैन । तर मेरा अरु कमरेडसँग पनि यसको उत्तर छैन । वर्तमान त डरलाग्दो छ नै, भविष्य पनि भारलाग्दो छैन भन्ने लागेपछि तिल्मिलाउनुबाहेक अर्को उपाय रहन्न । हरेक व्यक्ति आफैं आफैं तिल्मिलाईरहेको छ । त्यसैले सन्नाटा छ । जनमतको यो ओरालो कहिले रोकिन्छ ? यो तिल्मिलाहट कहिले रोकिन्छ ? यो सन्नाटामा वामपन्थी पार्टीहरुको गणितीय पराजयको बेदनामात्रै छैन । त्यो भन्दा बढी आफ्नैबाट, आफैंभित्रबाट यो आन्दोलन ठगिएको छ भन्ने कुराले मानिसहरु आहत भइरहेका छन् । किनकी सबैभन्दा तल काम गरिरहेका लाखौं वामपन्थी मतदाता, समर्थक र शुभचिन्तकहरुको भावुकताको नाजायज दोहन गरेर पार्टी पार्टीका ठूला नेता र तिनका गुटका भित्रियाहरुले आफ्नो सात पुस्ता सुधारेको, माथिमाथि पुगेको, व्यक्तित्व बनाएको, धन सम्पत्ति जोडेको, प्रधानमन्त्री, मन्त्री हुनका लागि पार्टीलाई जस्तोसुकै गठबन्धनको कर्म, कुकर्ममा धकेलेको, ठूला विचौलिया, दलालहरुसँग लसपस गरेको । तर, आफ्नै कमरेडहरुलाई लखेटेको, मन्त्री वा राजनीतिक नियुक्ति पाउनकै लागि पार्टीमा कहिले यो गुट, कहिले त्यो गुट गरेको । कहिले चाकडी गरेको, कहिले घुर्क्याएको । प्रश्न गर्नेहरुलाई किनारा गरिएको, कारबाही गरिएको, पार्टी कमिटीहरु जनताबाट टाढिँदै गरेको र त्यसको एकमुष्ट जवाफ जनताले दिएको  यो सबै छरपष्ट छ । अर्थात् हारेकोमा भन्दा आफैंले नेता मानेका, जिन्दावाद गरेका, जयजयकार गरेकाहरुबाट वाम आन्दोलनमाथि धोका भएकोमा ग्लानी महसुश भएको छ । वाम आन्दोलनमा आजको मुख्य प्रश्न यो सन्नाटा, यो ग्लानी वा यो सामूहिक मानसिक आधात चिर्न सकिन्छ कि सकिँदैन भन्ने हो वा यसलाई कसरी चिर्न सकिन्छ भन्ने हो ।

बहुप्रचलित भनाइ छ जितका हजार बाउ हुन्छन्, हार सधैं टुहुरो हुन्छ । हाम्रा सञ्चार माध्यमहरुमा वामपन्थी टुहुराका कथाहरु लेखिन थालेका छ । नेपालका कम्युनिष्टहरु पश्चिम बंगालको बाटोमा, २०४८ सालपछि कम्युनिष्टहरुको सबैभन्दा ठूलो हार, के वाम आन्दोलन फेरि उठ्ला ? १९ वर्षपछि गैरवामपन्थी सभामुख, पुराना वामपन्थी गढहरु भत्किए, फर्किएला कम्युनिष्ट प्रभाव ? जस्ता शीर्षकमा टिप्पणीहरु भएका छन् । कतिले त दक्षिण एसियास्तरमा नै कम्युनिष्ट आन्दोलनको बर्वादीको बारेमा लेखका छन् । आगामी दिनमा कम्युनिष्ट वा वामपन्थीहरुको विरुद्धको प्रचार अझ बढ्न सक्छ ।

पुनरुत्थानवादीहरु, धार्मिक छाता ओढेका सामाजिक लफङ्गाहरु, कात्रैसहित धेरै बेच्न पाए नाफा हुन्थ्यो भन्ने व्यवहारिक अर्थशास्त्रका उपदेशकहरु, राष्ट्रभन्दा पैसा नै माथि भन्ने पेशेवर तथा बुद्धिजीवीहरु, अमेरिका, युरोपजस्ता देशमा जन्मिन नपाएकोमा पश्चाताप गरिरहने दुःखी आत्माहरु, नानाथरीका विकासविद्हरु, अन्तर्राष्ट्रिय संस्थाका ठूला जागिरेहरु बढे बढे राजनीतिक परामर्शदाताहरु, माटो नदेखेका, गोबर नकुल्चिएका नवधनाढ्यका विदेशमा पढेका सन्तानहरु, संगठित रुपमा मैदानमा उत्रिनै बाँकी छ । कम्युनिष्टलाई थुक, समाजवादीलाई लखेट, वामपन्थीलाई घृणा गरजस्ता अभियान चल्नै बाँकी छ । कथा, कविता, वौद्धिक, दार्शनिक कृतिहरु आउनै बाँकी छ । भूराजनीतिक शक्तिहरुले अझै सबै वस्त्रहरु उतारिसकेका छैनन् । आवश्यक पर्दा कसरी नाङ्गिन्छन् हामी सबैले देखेकै छौं ।

फेरि प्रश्न आउँछ, यी सबैलाई आजको वाम आन्दोलनले कसरी थेग्न सक्छ ? के हामीले यी र यस्ता अनागिन्ती प्रश्नको उत्तर दिन सक्छौं ? कतिपयलाई लाग्न सक्छ यस्ता प्रश्नहरुले अझ निराशा थप्छ । यहाँनेर मार्क्सलाई स्मरण गर्न सकिन्छ । १८४८ मा युरोपका दर्जन जति मुलुकमा एकसाथ मजदुर आन्दोलन तथा युगान्तकारी राजनीतिक घटनाहरु भए । तर, तीन वर्ष पुग्दा नपुग्दै ती सबै आन्दोलनहरु सेलाउँदै गए । फ्रान्समा त निर्वाचनबाट आएको, राष्ट्रपति भएको लुई बोनापार्टले आफैंलाई सम्राट घोषणा गर्यो । यस्तो निराशाको समयमा मार्क्सले लुईँ बोनापार्टको १८औं ब्रुमियर भन्ने किताब लेखेका थिए । पुस्तकको अन्तिममा अब आन्दोलन फेरि कसरी उठ्ला ? भन्ने प्रश्नको उत्तर दिँदै उनले भन्छन्, हाम्रो आन्दोलनले आफ्नै नालायकीहरु खोतल्छ र ती नालायकीहरुलाई जित्दै फेरि पराजयबाट उठ्छ र अगाडि बढ्छ । आजको हाम्रो आन्दोलन पनि फेरि उठ्ला कि नउठ्ला भन्ने प्रश्नको उत्तर हामीले आफ्नै नालायकी माथि विजय हाँसिल गरौंला वा बहानाबाजी गरौंला भन्ने कुरामा भर पर्छ ।