देउवासँग रुवाखोलाको खेतमात्रै छ, ३४ वर्षमा एक पैसा पनि सम्पत्ति बढेको छैनः कांग्रेस नेता पोखरेल (भिडिओसहित)


काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्द राज पोखरेलले सरकारले प्रतिशोध साँधेर र मानव अधिकार हनन हु्नेगरी कसैलाई पनि पक्राउ गर्ने र कारबाही गर्न नहुने बताएका छन् । बुधबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा प्रत्रकार ऋषि थपलियासँग संवाद गर्दै उनले पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनको परिवारमाथि जारी भएको पक्राउ पुर्जी र सम्पत्ति सुद्धीकरण सम्बन्धी कसुरमा थालिएको अनुसन्धानलाई लक्षित गर्दै उनले यस्तो टिप्प्णी गरेका हुन् । देउवा र देउवाका परिवारहरु भोलि छानविनको क्रममा निर्दोष देखिएको खण्डमा सरकारको अहिलेको कदमलाई आफूहरुले राजनीतिक प्रतिशोधको रुपमा बुझ्ने पनि उनले बताए ।

देउवाले आफू गृहमन्त्री हुँदादेखि अहिलेसम्म रुवाखोला (डडेलधुरा) को खेतको मात्रै सम्पत्ति विवरण बुझाइराखेको पनि उनले बताए । देउवा गृहमन्त्री भएदेखि हालसम्म उनको कुनै सम्पत्ति नबढेको नेता पोखरेलले बताए । ‘उहाँले आफू गृहमन्त्री हुँदादेखि अहिलेसम्म रुवा खोलाको खेतकै मात्र सम्पत्ति बुझाइरहनु भएको छ । त्यसकारण उहाँको कुनै सम्पत्ति बढेको पनि छैन,’– उनले भने ।

वि.सं. २०४८ साल वैशाख २९ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा देउवा गृहजिल्ला डडेल्धुराबाट पहिलो पटक निर्वाचित भएर सो निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारका उनी गृहमन्त्री बनेका थिए । उनी गृहमन्त्री बनेको र हालको अवधिलाई नियाल्दा ३४ वर्ष हुन आउँछ । सो अवधिमा देउवाले बुझाएको सम्पत्ति विवरणमा एक पैसा पनि सम्पत्ति नबढेको नेता पोखरेलको दाबी छ ।

अदालतले नै पक्राउ पुर्जी दिएपछि देउवा र उनको परिवारले अब अनुसन्धानमा सघाउनुपर्ने नेता पोखरेलले बताए । देउवा सम्भ्रान्त परिवारको नभएर साधारण परिवारबाट आएर देशको बागडोर सम्हालेको पनि नेता पोखरेलले बताए ।