सरकारी वकिलले ओली-लेखकमाथि मुद्दा चलाउनुपर्ने आधार र कारण भेटेको छैनः वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडिओसहित)


काठमाडौं, २६ चैत । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारी वकिलले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व गृहमन्त्री रमेश लेखकमाथि मुद्दा चलाउनुपर्ने आधार र कारण नै नभेटेको आफूलाई जानकारी आएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार खेम बमसँग कुराकानी गर्दै वरिष्ठ अपधिवक्ता त्रिपाठीले सरकारी वकिलले मुद्दा चलाउनुपर्ने आधार र कारण नै नभेटेसँग ओली र लेखक आज रिहा हुने सम्भावना बढेको बताएका हुन् ।

‘सरकारसँग वा नेपाल प्रहरीसँग अब अप्सन छैन । आज कि त अभियोग पत्र दायर गर्नुपर्यो, वा रिहा गर्नुपर्यो । अब फेरि अनुसन्धानको लागि म्याद थप गर्न अब अप्सन छैन । मैले बुझेको–सरकारी वकिलले मुद्दा चलाउनुपर्नेसम्मको आधार र कारण भेटेको छैन भन्ने राय दिएको भन्ने आएको छ । आधार र कारण भेटिएन भने अभियोग पत्र दायर हुँदैन । धेरै सम्भावना छ आज उहाँहरु रिहा हुनुहुने छ,’– वरिष्ठ अधिवक्ता त्रिपाठीले भने ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटना छानविन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको जाँचबुझ आयोगले ओली र लेखकलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाउन सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा ओली र लेखक गत चैत १४ गते पक्राउ परेका थिए । ओली र लेखकको तर्फबाट सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिट भनेको खारेज भएको छ । सर्वोच्चले परमादेश जारी गर्दै चैत २५ गतेसम्म अनुसन्धान सक्न भनेको थियो ।