बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमामा आबद्ध


दशरथचन्द(बैतडी), २६ चैत । जिल्लामा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।
स्वास्थ्य बिमा सम्पर्क कार्यालय बैतडीका प्रमुख अनिलचन्द्र जोशीले हालसम्म यहाँका १६ हजार ४४१ परिवारका ६६ हजार २४७ जना बिमा कार्यक्रममा आबद्ध भएका बताए ।

तीमध्ये जेष्ठ नागरिक, क वर्गको अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित, ‘एमडीआरटी’ क्षयरोग भएका, कुष्ठरोग लागेका व्यक्तिहरूको निशुल्क स्वास्थ्य बिमा गर्ने गरिएको उनले जानकारी दिए । यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाहरूको बिमा गर्दा ‘प्रिमियम’ को आधा रकम सरकारले तिर्ने गरेको जोशीले बताए ।

स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निशुल्क रूपमा उपचार सेवा पाउने गरेका छन् । बैतडीमा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली बिमा सेवा पाउने सूचीकृत स्वास्थ्य संस्थाका रूपमा रहेका छन् । ती संस्थामा उपचार हुन नसकेमा ‘रेफर’ गरिएका अन्य अस्पतालमा पनि निशुल्क उपचार हुने गरेको बिमा सम्पर्क कार्यालय प्रमुख जोशीले बताए ।

स्वास्थ्य बिमामा आबद्ध हुन चाहने नागरिकले पाँच जनासम्म परिवार भएका सदस्यलाई वार्षिक तीन हजार पाँच सय ‘प्रिमियम’ तिर्नुपर्ने र सोवाफत एक लाख बराबरको उपचार निशुल्क पाइने गरेको छ । पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य सात सय थप प्रिमियम बुझाउनुपर्ने र उनीहरूले थप २० हजारका दरले उपचार सुविधा पाउने गरेका छन् ।