वासिङ्टन, २६ चैत । अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘वास्तविक र पूर्ण कार्यान्वयन हुने सम्झौता’ नभएसम्म इरान नजिकै तैनाथ अमेरिकी सैन्य शक्ति यथावत् रहने स्पष्ट पारेका छन् । यसले वार्तासँगै सैन्य दबाब कायम राख्ने अमेरिकी रणनीति झल्काएको छ ।
मङ्गलबार भएको दुई साताको युद्धविरामले द्वन्द्वमा केही विरामको सङ्केत दिए पनि क्षेत्रीय तनाव घटेको छैन । इजरायलले लेबनानमा बमबारी जारी राख्दै इरानका केही प्रमुख मागहरू अस्वीकार गरेपछि परिस्थिति अझै जटिल बनेको छ, जसले आगामी वार्ताको वातावरणमा समेत असर पार्ने देखिएको छ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत अमेरिकी सैन्य उपस्थितिबारे स्पष्ट पार्दै इरान वरपर तैनाथ जहाज, विमान र सैन्य जनशक्ति आवश्यक सबै हतियार र सामग्रीसहित त्यहीँ रहने बताए । उनले ‘दुश्मनको क्षमतामा पहिले नै ठूलो क्षति पुगिसकेको’ उल्लेख गर्दै वास्तविक सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएसम्म सैन्य तयारी कायम रहने धारणा राखे ।
यद्यपि, उनले सम्झौता हुने सम्भावनालाई ‘अत्यन्तै कम’ भएको टिप्पणी गरे । त्यससँगै, सम्झौता असफल भए ‘अझ ठूलो, अझ सशक्त’ आक्रमणमा फर्किने चेतावनी पनि दिए । “हाम्रो सेना तयार छ र अर्को सफलताका लागि अघि बढ्न उत्सुक छ”, भन्दै उहाँले अमेरिकी सैन्य तयारीप्रति आत्मविश्वास व्यक्त गरे ।
यसबीच, इरानले युद्धविराम अवधिमा महत्त्वपूर्ण समुद्री मार्ग खुला राख्न सहमति जनाएको भए पनि त्यस क्षेत्रमा आफ्नो नियन्त्रण कायम रहने स्पष्ट पारेको छ । विशेषगरी होरमुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त संवेदनशील क्षेत्र मानिन्छ, जहाँबाट सामान्य अवस्थामा विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने गर्दछ ।
इरानी राज्य सञ्चारमाध्यममार्फत सार्वजनिक विवरणमा तेहरानले वासिङ्टनसँगको सम्भावित सम्झौतामा आफ्नो युरेनियम संवर्धन कार्यक्रमलाई मान्यता दिन आग्रह गरेको देखिएको छ । तर, संयुक्त राष्ट्रसङ्घमार्फत प्रस्तुत औपचारिक मागहरूमा यो विषय समावेश नभएको जनाइएको छ । ट्रम्पले भने कुनै पनि सम्भावित सम्झौतामा संवर्धनसम्बन्धी विषयलाई समाधान गरिने बताएको छ ।
पाकिस्तानमा तय भएको आगामी वार्तालाई लक्षित गर्दै ट्रम्पले इरानसँगको अन्तिम समझदारीमा ‘इरानसँग कुनै आणविक हतियार नहुने’ र होरमुज जलडमरूमध्य सुरक्षित र खुला रहने सुनिश्चित गरिने दोहोर्याए । रासस




प्रतिक्रिया