सियोल, २६ चैत । दक्षिण कोरियामा चिडियाखानाबाट भागेको ब्वाँसो अझै नियन्त्रणबाहिर रहेपछि सुरक्षा चिन्ताले स्थानीय विद्यालय बन्द गर्नुपरेको छ । खोजी अभियान तीव्र बनाइए पनि जनसुरक्षालाई प्राथमिकता दिँदै अधिकारीहरूले सतर्कता बढाएका छन् ।
सन् २०२४ मा जन्मिएको करिब ३० किलोग्राम तौलको नर ब्वाँसो बुधबार डेजिओन स्थित एक थिम पार्कको चिडियाखानाबाट भागेको थियो । यो सहर सियोलबाट करिब १५० किलोमिटर दक्षिणमा पर्छ । बिहीबारसम्म पनि ब्वाँसो नियन्त्रणमा नआएपछि आसपासका क्षेत्रमा त्रास फैलिएको छ ।
यसै कारण नजिकै रहेको डेजिओन सान्सियोङ प्राथमिक विद्यालय बन्द गरिएको डेजिओन महानगर शिक्षा कार्यालयका प्रवक्ताले जानकारी दिए । उनका अनुसार बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै विद्यालय सञ्चालन रोकिएको हो ।
ब्वाँसोको खोजीका लागि अग्निनियन्त्रक, प्रहरी तथा सैन्य बलसहित ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । डेजिओन अग्नि मुख्यालयका एक अधिकारीका अनुसार बिहान ड्रोन क्यामेरा प्रयोग गरेर खोजी सुरु गरिएको थियो, तर लगातार वर्षा भएपछि त्यसलाई रोकिनुपरेको थियो ।
प्रारम्भिक अनुसन्धानअनुसार ब्वाँसोले जमिन खनेर चिडियाखानाको पर्खाल कमजोर बनाउँदै भाग्न सफल भएको देखिएको छ । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा भने उक्त ब्वाँसो सडक क्षेत्रमा स्वतन्त्र रूपमा घुमिरहेको देखिएको छ, जसले सर्वसाधारणमा थप चिन्ता बढाएको छ ।
यसअघि पनि सन् २०२३ मा सियोलकै एक चिडियाखानाबाट भागेको ‘सेरो’ नामक जेब्रा विश्वव्यापी चर्चा बनेको थियो । उक्त जेब्रालाई पछि साँघुरो गल्लीमा नियन्त्रणमा लिएर सुरक्षित रूपमा पुनः घेरामा फर्काइएको थियो ।
अधिकारीहरूले अहिले पनि ब्वाँसो जीवितै सुरक्षित नियन्त्रणमा ल्याउने लक्ष्यसहित खोजी अभियान जारी राखेका छन् र सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन् । रासस




प्रतिक्रिया