काठमाडौं, २६ चैत । प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिपरिषद्मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा रहेकी सीता वादी वादी समुदायकी पहिलो मन्त्री हुन् । नेपालको राजनीतिक इतिहासमै पहिलो पटक वादी समुदायले सङ्घीय सरकारमा प्रतिनिधित्व पाएको हो ।
सुर्खेतको झुप्रा खोलामा जन्मिए हुर्किएकी ३० वर्षीय वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्नु अहिलेसम्म वादी समूदायले पाएको सबैभन्दा ठूलो सम्मान हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद हुँदै सीताले वादी समुदायबाट पहिलो मन्त्री बन्ने अवसर पाईन् । पदभार ग्रहण गर्दै वादीले पहिलाहरुको समस्या समाधानका लागि नीतिगत सुधारको पक्षमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । महिलामाथि हुने हिंसा र बेचविखनको घटना रोक्नका लागि कानूनी व्यवस्था भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो भएकाले आफ्नो ध्यान त्यसतर्फको सुधारमा रहेको उनले बताईन् ।
जति पनि महिला हिंसा, चेलीबेटी बेचविखन लगातका हिंसाहरु जति पनि छन्, त्यो कुरालाई चाहिँ अब नीतिगत रुपमा कार्यान्वयन गर्नुपर्छ भन्नेमा मेरो जोड छ ।
मन्त्री वादीका बुबा गोपाल र आमा पार्वती अहिले पनि भेरी नदीको झुप्रा खोला किनारमा बालुवा चालेर जीवन गुजार्दै आएका छन् । सीता मन्त्री बनेपछि वादी समुदायमा हर्षमात्रै छाएको छैन, अब सिंगो समुदायले भोग्दै आएको समस्या समाधान हुने आशा पनि उनीहरुको छ ।
बाल्यकाल कठोर संघर्षमा विताएकी मन्त्री सीताले स्थानीय जनसेवा मा.वि. मा कक्षा ९ सम्म पढेकी थिईन् । त्यसपछि उनले विभिन्न संस्थाको सहयोगमा राजनीतिक शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी छन् । उनको यो संघर्ष र सफलताको कथा वादी समुदायका लागि मात्रै नभएर सिंगो देशवासीका लागि प्रेरणा बनेको छ ।




प्रतिक्रिया