काठमाडौं, चैत २७ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले दार्चुलावासी अभाव र समस्याहरूको चाङमा रहेको बताएका छन्। केही दिनदेखि दार्चुलाको भ्रमणमा रहेका साम्पाङले आज काठमाडौँ फर्किनुअघि त्यहाँको पीडाका केही अनुभव सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
कहिल्यै फर्केन भन्दै एउटी आमाले बिलौना गर्दा भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कंदैछु आज’, सांसद साम्पाङले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिल्यै घाम नलागेको तुसारोले छोपिएको पाखामा कठ्यांग्रिएर घामको न्यायो खोजिरहेका ती आँखाहरूको सपना मैले पनि मेरो आँखामा सजाएर काठमाडौँ फर्किंदैछु आज। त्यो ठाउँलाई सम्झिँदा जीवनभरि उतै बसेर गिट्टी कुटिरहूँजस्तो लाग्ने।’
यस्तो छ उनको पूरा भनाइ:
‘जहाँ म पुगेँ त्यहाँबाट पालिका कार्यालय पुग्न ६ घण्टा हिँडेर जानुपर्ने रैछ। बाटोमा ढुङ्गा खस्ने जोखिम हुने रैछ भने जिल्लाको सदरमुकाम पुग्न १ देखि १.५ दिन। फोन नलाग्दो रैछ। बिजुली प्रसारण पनि रैन रैछ। स्वास्थ्य चौकी पुग्न ४ घण्टँ हिँडेर जानपर्ने। बजार सदरमुकाममा मात्रै रैछ। जान १ दिन लाग्ने। विद्यालय आधारभूत तहसम्म रैछ। शिक्षक दरबन्दी पुग्दो रैन रैछ। १५ जना सशस्त्र प्रहरी र ५/६ जना नेपाल प्रहरी देख्दा मात्रै त्यो नेपाल हो भन्ने राज्यको उपस्थिति महसुस हुँदोरैछ। संसारको यस्तो कुना जहाँ सयौँ वर्षदेखि मानिसहरू विकासको पर्खाइमा तुइनबाट खस्दै महाकालीमा विलिन हुँदै जीवन जिइरहेका रैछन्। घरैपिच्छे १ जना, २ जना तुइन चुँडिएर महाकालीमा खसेका रैछन्। सुत्केरी बुहारीलाई औषधी किन्न भनी बजार गएका छोरा तुइन चुँडिएर महाकालीमा बिलाए। कहिल्यै फर्केन भन्दै एउटी आमाले बिलौना गर्दा भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कंदैछु आज। कहिल्यै घाम नलागेको तुसारोले छोपिएको पाखामा कठ्यांग्रिएर घामको न्यायो खोजिरहेका ती आँखाहरुको सपना मैले पनि मेरो आँखामा सजाएर काठमाडौँ फर्किंदैछु आज। संसद्को बैठकहरू अनि मेरा अनेकन् जिम्मेवारीले गर्दा फर्कन बाध्य छु। त्यो ठाउँलाई सम्झिँदा जीवनभरि उतै बसेर गिट्टी कुटिरहूँजस्तो लाग्ने। श्रमदान गरिरहूँ जस्तो।।।आजीवन। यो कुनै यात्रा थिएन मेरो लागि। यो थियो, एउटा पीडाबोध, यथार्थको खोज। हराएका मेरा नेपाली दाजुभाइ, दिदीबैनीलाई खोज्ने यात्रा। श्रमदानको अभियानमार्फत अब हामी जोडिएका छौँ। पूर्व र पश्चिमलाई जोड्ने एउटा संकल्प। अब मैले भन्नुपर्ने र भनिरहनुपर्ने केही रहेन, अब राज्यको आँखा त्यता दौडनुपर्छ। दार्चुला नेपालको अभिन्न र प्रमुख स्थानहरूमध्ये एक बन्नुपर्छ।’




प्रतिक्रिया