दोधारा चाँदनी (कञ्चनपुर), २७ चैत ।कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया–थालसेमिया’ पहिचान भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि यहाँको लालझाडी गाउँपालिकामा निःशुल्क ‘स्क्रिनिङ’ स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । एक सातासम्म सञ्चालन भएको उक्त शिविरमा दुई हजार ६४७ जनाको रगत परिक्षण गरिएको स्वास्थ्य कार्यालयका ‘फोकल पर्सन’ सिद्धराज भट्टले जानकारी दिए ।
उनका अनुसार एक हजार ७५७ महिला र ८९० पुरुषको रगत परीक्षण गरिएकामा १४८ महिला र ७५ पुरुष गरी २२३ जनामा ट्रेट (वाहक) देखिएको छ । “पोजेटिभ देखिएकाहरुको थप पुष्टि परीक्षण (कन्फरमेसन) का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाएका छौँ,” उनले भने, “त्यसको रिपोर्ट आउन केही समय लाग्छ ।”
नेपालका थारू चौधरी समुदायमा यो रोग एउटा प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहेको र समयमै यसको रोकथामका उपायहरु अवलम्बन गर्न नसकिए अवस्था झन् भयावह हुनसक्ने भएकाले कञ्चनपुरका थारू चौधरीहरु समुदायको बसोबास उच्च रहेका पालिकामा यो रोगको पहिचान तथा निदानका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको भट्टले बताए ।
“सिकलसेल एनिमिया र थालेस्मिया व्यक्तिको जिनसम्बन्धी खराबीका कारणले हुन्छ रोगसँग सम्बन्धित सानो खराबी भएको अवस्थालाई ट्रेट भनिन्छ,” उनले भने, “केटा मान्छेमा ट्रेट छ र उसको विवाह ट्रेट भएको केटी मान्छेसँग भयो भने त्यस बाट जन्मने २५ प्रतिशत बच्चाहरुमा सिकलसेल रोग भएर जन्मने गर्छन ।” ट्रेट भएको व्यक्तिलाई शारीरिक रुपमा खासै समस्या नदेखिने र समस्या देखिए पनि सामान्य खालको हुने उनले बताए ।
उनका अनुसार सिकलसेल एनिमिया र थालासेमिया वंशाणुगत (आनुवंशिक) रगतसम्बन्धी रोग हुन । वाहक (ट्रेट) देखापरेका व्यक्तिहरुको रगतको अन्तिम चेकजाँच गरी सिकलसेल एनिमिया भए÷नभएको पुष्टि गरिन्छ ।
हेमोग्लोबिनसँग सम्बन्धित खराबीको कारणले हुने समस्याहरु विश्वमा पाँच प्रतिशतभन्दा बढी भएको तथ्याङ्क छ । तीमध्ये सबैभन्दा बढी देखापरेको समस्या सिकलसेल एनिमिया र थालेसिमिया हो । नेपालमा पनि खास गरी थारू चौधरी समुदायमा यो रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारू समुदायका महिलाहरुको डिएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिहरुमा सिकलसेल हेटरोजाइगस ट्रेट रहेको पाइएको थियो ।
सिकलसेल रोग भएमा थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती, पेट, हातखुट्टाको कुर्कुच्चा दुख्ने, आँखामा समस्या देखापर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखापर्ने गर्दछन । रासस




प्रतिक्रिया