धुलिखेल, २७ चैत । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर पाखोबारीमा मकै छर्ने कामसँगै कफीको बोट रोप्नका लागि खाल्डो खन्ने काममा व्यस्त छन् । उनले आफ्ना बारीका पाटाभरि कफीका बिरुवा रोप्न ज्यालामा पाँच जना खेताला लगाएर खाल्डो खनिरहेका छन् । अन्य अन्नबाली खेतीभन्दा कफीबाट बढी आम्दानी हुने भएपछि मगरले केही वर्षदेखि कफी खेतीलाई प्राथमिकता दिएका हुन् ।
मकै खेती गर्दा उत्पादन कम हुने र भएको अन्नबाली जङ्गली जनावर बाँदरले नोक्सान गर्न थालेपछि कफी खेतीतर्फ आकर्षण बढेको उनले बताए । यस वर्ष मात्रै करिब ८०० खाल्डो खनिसकिएको र अझै खन्ने काम बाँकी रहेको मगरको भनाइ छ ।
यस्तै महाभारत–५ चौडिक भोर्लेनीका हिराबहादुर राना मगरले पनि कफीको बिरुवा रोप्न यस वर्ष करिब तीन रोपनी क्षेत्रफलमा खाल्डो खनिसकेका छन् । धेरै वर्षअघि रोपेका बोटबाट उत्पादन आउन थालेको उनले बताए । यसअघि काठमाडौँमा व्यवसाय गर्दै आएका उनी विगत दुई वर्षदेखि गाउँमै बसेर कफी खेतीमा लागेका हुन् । अन्य अन्नबालीभन्दा कफीबाट बढी आम्दानी हुने भएकाले यसतर्फ आकर्षित भएको उनको भनाइ छ ।
यसैगरी रामकुमार लुङ्गेली मगरले पनि यस वर्ष २०० भन्दा बढी खाल्डो खनिसक्नुभएको छ । उचित स्याहार र सिँचाइको व्यवस्था गर्न सके रोपेको दुई वर्षदेखि नै उत्पादन दिन थाल्ने उनले बताए । महाभारत गाउँपालिकाका कफी उत्पादन हुने बस्तीमा व्यापारी घर–घरमै कफी खोज्न आउन थालेपछि यहाँका किसान कफी खेतीतर्फ थप आकर्षित भएका छन् ।
बागमती प्रदेश सरकार र महाभारत गाउँपालिकाको सहयोगमा कफी खेती प्रवद्र्धन हुँदै आएको छ । महाभारत साना किसान तथा कृषि सहकारी संस्थाका प्रबन्धक चन्द्रकुमार लुङ्गेली मगरका अनुसार प्रदेश सरकारको ६०, गाउँपालिकाको २० र किसानको २० प्रतिशत लागत साझेदारीमा व्यावसायिक कफी खेती भइरहेको छ । गत वर्षदेखि सुरु भएको अभियानअन्तर्गत यस वर्ष ३० हजार कफीका बिरुवा रोप्ने लक्ष्य रहेको उनले बताए ।
महाभारत–५ का किल्ला, भलडाँडा, भोर्लेनी र चौडिकलगायत बस्तीका किसान बिरुवा रोप्न बारीमा खाल्डो खन्ने क्रममा छन् । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार वडा नं १, २, ४, ५ र ८ लाई कफी उत्पादन क्षेत्रका रूपमा पहिचान गरिएको छ । विगत करिब चार वर्षदेखि बिरुवा वितरण तथा आवश्यक औजार–उपकरण उपलब्ध गराएर किसानलाई सहयोग गर्दै आएको उनले बताए ।
पालिकाले वडा नं ५ मा ‘एक वडा एक उत्पादन’ कार्यक्रम र ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २०’ कार्यक्रममार्फत किसानलाई प्रोत्साहन गर्दै आएको छ । गत वर्ष ३८ हजार बिरुवा वितरण गरिएकामा यस वर्ष वडा नं ५ लाई कफी हबका रूपमा विकास गर्न करिब ३० हजार बिरुवा वितरण गर्ने योजना रहेको छ ।
समग्रमा यस वर्ष एक लाख बिरुवा वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष जिम्बाले जानकारी दिए । उत्पादन र गुणस्तर राम्रो भएको महाभारत गाउँपालिकामा कफीको बजारीकरण पनि सन्तोषजनक छ । गाउँपालिकाका अनुसार यस वर्ष मात्रै ८० टनभन्दा बढी कफी उत्पादन तथा निर्यात भएको छ । रासस




प्रतिक्रिया