अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ


काठमाडौं, २७ चैत । बुढानिलकण्ठ नगरपालिका-१० बाट अवैध लागूऔऋध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५९ ग्राम ५ सय मिलिग्राम, नगद १ लाख ७२ हजार ७ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएका २७ वर्षीय रामचन्द्र पुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, महानगरपालिका-३२ स्थित जडीबुटी न्यू आसियाना गेष्ट हाउस र गौशालास्थित लालिगुरास गेष्ट हाउसबाट अवैध लागऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३५ ग्राम र नगद ५७ हजार रूपैयाँ सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा जनकपुरधाम उपमहानगरपालिका-१३ घर भएका २६ वर्षीय रोशन कुमार साह, ३२ वर्षीया मिना कुमारी श्रेष्ठ र ललितपुर ग्वार्को बस्ने धनुषा घर भएका २४ वर्षीय दिपक कुमार महासेठ रहेका छन् । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

 ललितपुर, बागमती गाउँपालिका-३ भट्टेडाँडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ८० ट्याब्लेट सहित सर्लाही कविलासी नगरपालिका-१ घर भएका २२ वर्षीय बलराम कुमार साहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०२-०४९ प ६२४५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  

झापा, झापा गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-२ हिमाली टोल बस्ने २४ वर्षीय संगित शेर्मालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित बर्दगोरिया गाउँपालिका-१ बस्ने २५ वर्षीय अरूण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय भजनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध डाइजेपाम २७ एम्पुल, प्रोमेथाजाइन २७ एम्पुल र बुप्रेनोर्फिन २७ एम्पुल सहित पर्वत कुश्मा नगरपालिका-५ बस्ने २० वर्षीय मोहन बहादुर माझी समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-२ बाट नियन्त्रित लागूऔषध डाइजेपाम ५५ एम्पुल, फेनारगन ५६ एम्पुल र बुप्रेनोर्फिन ५७ एम्पुल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-२ पोखरा बसपार्क बस्ने ३४ वर्षीय गणेश खत्री र सोही महानगरपालिका-१२ बस्ने ३५ वर्षीय सुरेन्द्र थापा रहेका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले बर्दघाटबाट चितवनतर्फ आउँदै गरेको ना.४१ प ४३१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित सोही नगरपालिका-४ तुलापुर बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहति फेला पारी पक्राउ गरेको हो । 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने २९ वर्षीय बिशाल खाँण ठकुरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र. ०२-००१ ख ००५४ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

सुनसरी, धरान उपमहागनरपालिका-१७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १८ ट्याब्लेट र डिकोलिक १ सय २० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१७ बस्ने २६ वर्षीय सुबास राईलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  अस्थायी प्रहरी चौकी रेल्बेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

धादिङ, गल्छी गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा ३१ किलो ४ सय ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ किरानचोक बस्ने २५ वर्षीय हरि तामाङ र २५ वर्षीय आकाश तामाङ रहेका छन् । प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले काठमाडौंबाट कपिलवस्तुतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख ०८७३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।