काठमाडौं, चैत २८ । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड बराबरी रोकिएको छ । शुक्रबार राति भएको खेलमा जिरोनासँग १-१ गोलको बराबरीमा रोकिएसँगै म्याड्रिड शीर्ष स्थानमा रहेको बार्सिलोनासँग ६ अंकले पछि परेको हो ।
घरेलु मैदान इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडको लागि फेडेरिको भाल्भेर्डे र जिरोनाको लागि थोमस लेमारले समान एक/एक गोल गरे । खेलमा लिएको शुरूवाती अग्रता जोगाउन नसक्दा म्याड्रिड घरेलु मैदानमा रोकिन पुगेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औँ मिनेटमा ब्राहिम डियाजको पासमा भाल्भेर्डेले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।
६२ औँ मिनेटमा लेमारले गोल गर्दै जिरोनालाई १-१ गोलको बराबरीमा ल्याए । बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले १/१ अंक बाढेका हुन् । जितसँगै म्याड्रिड ३१ खेलबाट ७० अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ७६ अंक रहेको छ । समान खेलबाट ३८ अंक जोडेको जिरोना १२ औँ स्थानमा रहेको छ ।




प्रतिक्रिया