काठमाडौं । पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच हुन गइरहेको उच्चस्तरीय वार्ताका लागि सुरक्षा र व्यवस्थापकीय तयारीलाई कडा बनाइएको छ ।
व्यवस्थापनलाई सहज बनाउन पाकिस्तानका जुम्ल्याहा सहर इस्लामाबाद र रावलपिन्डीमा स्थानीय बिदा घोषणा गरिएको छ । ‘ब्लु बुक’ भीभीआईपी प्रोटोकल अन्तर्गत प्रहरी, अर्धसैनिक बल र अन्य सुरक्षा निकायहरू परिचालन गरिएको पाकिस्तानका गृहमन्त्री मोहसिन नाक्वीले बताएका छन् ।
सिन्ह्वाका अनुसार विदेशी प्रतिनिधिमण्डलको आवागमनका लागि छुट्टाछुट्टै मार्गहरू निर्धारण गरिएका छन् । इस्लामाबाद प्रहरीले एक्सप्रेस राजमार्गमा सवारी साधनहरू अन्यत्र मोडिने जानकारी दिँदै ट्राफिक एडभाइजरी जारी गरेको छ ।
पाकिस्तानले वार्तालाई मध्यनजर गर्दै उद्दार सेवा र अस्पतालहरूलाई उच्च सतर्कता (हाई अलर्ट) मा राखेको छ । इरानी र अमेरिकी प्रतिनिधिमण्डलको बसाइका क्रममा राजधानी प्रवेश गर्ने धेरै नाकाहरू सिल गरिने भएका छन् ।
दुवै पक्षलाई वार्ताको टेबुलमा ल्याउन पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इसाक दारले क्षेत्रीय नेताहरूसँग परामर्श गर्नुका साथै तेहरान र वासिङ्टनसँग कूटनीतिक सम्पर्क कायम राखेका छन् ।
इरानको वार्ता टोली इस्लामाबाद पुगिसकेको छ । अमेरिकी टोली पनि इस्माबादका लागि हिँडिसकेको छ । अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् भने इरानको नेतृत्व सभामुख मोहम्मद बगर गालिबाफले गरिरहेका छन् ।




प्रतिक्रिया