राप्रपाले स्वागत नेपाललाई पार्टीको साधारण सदस्यतासमेत पत्याएन


काठमाडौं, २८ चैत । अधिवक्ता स्वागत नेपालले आफूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको साधारण सदस्यतासमेत नदिएको बताएका छन् । गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राप्रपाको हलो चुनाव चिन्हबाट चुनावी मैदानमा होमिएका अधिवक्ता नेपालले आफूलाई पार्टीले सदस्यता भने नदिएको बताएका हुन् ।

‘राप्रपाको कुनै पनि तहको कुनै पनि कमिटीमा कुनै पनि प्रकारको सदस्य म छैन । मलाई सदस्यता दिनुभएको छैन । सदस्यता दिएन, मलाई नलिएको होला । म योग्य छैन होला । हलो चुनाव चिन्हबाट म उम्मेदवार बनेँ । चुनाव चिन्ह दिनुभयो, सदस्यता दिनुभएको छैन,’ प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि थपलियासँग संवाद गर्दै उनले भने ।