उपसभामुख चयनमा बालेन हाबी, रविले राप्रपालाई दिएको वचन पूरा भएन


काठमाडौं, २८ चैत । प्रतिनिधिसभा सदस्य एवं संसद्मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुश्बु ओलीले प्रतिनिधिसभाको उपसभामुखमा रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका ज्ञान बहादुर शाहीबीच भएको समझदारी कार्यान्वयन नभएको बताएकी छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार खेम बमसँग कुराकानी गर्दै राप्रपा नेतृ ओलीले आफूहरु राजनीतिक रुपमा अपरिपक्व नरहेको र लामिछानेको आवश्वसन पाएर नै आफ्नो दलको तर्फबाट उम्मेदवारी दर्ता गराएको बताएकी हुन् ।

‘उपसभामुख पदमा उम्मेदवारी दिनका निम्ति तपाईँको पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलाई रवि लामिछानेले आश्वासन दिएको पक्का हो ?’ भन्ने पत्रकार खेम बमको प्रश्नमा नेतृ ओलीले भनिन्, ‘त्यो हो । त्यो नगरीकन हामी किन दर्ता गर्छौं भन्नुस् न । किन भने हामी ५ जना भएको दलले १८२ जनाको समर्थन नपाउने भए यति अपरिपक्वत छैन नि राप्रपा ।’

प्रतिनिधिसभाको उपसभामुख पदका लागि हिजो (शुक्रबार) भएको निर्वाचनमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी चौधरीले २२९ मत पाएर निर्वाचित भएकी थिईन् । यता राप्रपाले उठाएको उम्मेदवार सरस्वती लामाले भने जम्मा ५ मत पाएकी थिईन्् । राप्रपाले यसलाई आफूहरुमाथि राप्रपाबाट भएको धोकाको रुपमा लिएको छ । प्रतिनिधिसभाको उपसभामुख चयनका सन्दर्भमा रास्वपामा लामिछानेको भन्दा पनि प्रधानमन्त्री बनेका वरिष्ठ नेता बालेन्द्र शाह हाबी भएको पनि चर्चा चल्न थालेको छ । बालेन्द्र र श्रम संकृति पार्टीका अध्यक्ष हर्क राज राईबीच सुमधुर सम्बन्ध रहेको छ ।

गत २०७९ को स्थानीय तह निर्वाचनका बालेन र हर्क दुवैले स्वतन्त्र रुपमा चुनाव लडेर विजयी हाँसिल गरेका थिए । अब संयोग त के छ भने त्यो बेलामा बालेन र हर्क दुवैको चुनाव चिन्ह लौरो रहेको थियो ।