काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.कृष्णप्रसाद पौडेललाई स्पष्टीकरण सोधेको छ । उनीहरुलाई स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्तिका विषयमा स्पष्टीकरण सोधेको हो ।
स्वास्थ्य बीमा बोर्डको सदस्यको नियुक्ति र सदस्यको बैठकमा उपस्थितिलगायतका विषयमा सञ्चारमाध्यममा आएको विषयमा मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक सापकोटा र कार्यकारी निर्देशक पौडेललाई तीन दिने स्पष्टीकरण सोधेको हो ।
सञ्चारमाध्यममा स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्तिबारे माइन्युटका विषयहरू, निर्णय र उपस्थितिसँग सम्बन्धित कागजात मिलाउने काममा कर्मचारीहरूकै भूमिका रहेको दावी गरिएको थियो ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत दिपेन्द्र दाहालद्वारा हस्ताक्षरित पत्रमा सापकोटा र पौडेललाई उक्त विषयमा संलग्नता र भूमिका रहे–नरहेको र के–कति कारणले यस्तो भएको हो भन्ने बारेमा तीन दिनभित्र जवाफ मन्त्रालयमा पेस गर्न भनिएको छ ।
निस्क्रिय भइसकेको बोर्ड सदस्य जुनु श्रेष्ठलाई पुन बैठकमा सहभागी गराएपछि विवाद भएको थियो । श्रेष्ठ हालै पदमुक्त गरिएका मन्त्री दीपक साहकी श्रीमती हुन् ।





प्रतिक्रिया