इस्लामावादबाट फर्कियो अमेरिकी टोली, चिन्तित नभएको ट्रम्पको टिप्पणी


काठमाडौं, चैत २९ । अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन भएपछि वार्ताका लागि पाकिस्तान पुगेको अमेरिकी प्रतिनिधिमण्डल फिर्ता भएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल दुई देशबीचको महत्त्वपूर्ण शान्ति वार्ता कुनै निष्कर्षमा पुग्न नसकेपछि अमेरिका फर्किएको छ । पाकिस्तानबाट फर्किनुअघि उनले पत्रकारहरूसँग कुरा गर्दै भने, “हामी विगत २१ घण्टादेखि निरन्तर वार्तामा थियौँ, तर दुर्भाग्यवश कुनै सहमति हुन सकेन।”

अमेरिकाले स्पष्ट सर्तहरू राखेको भए पनि इरान ती सर्तहरूमा सहमत नभएको भान्सले बताएका छन्। उनले थपे, “हामीले इरानलाई हाम्रा सर्तहरू स्वीकार गराउन सकेनौँ।” उपराष्ट्रपति भान्सले पाकिस्तानका प्रधानमन्त्री र फिल्ड मार्सल मुनीरप्रति आभार व्यक्त गर्दै भने, “वार्तामा जे(जस्ता कमजोरी रहे पनि ती पाकिस्तानका कारण भएका होइनन्। पाकिस्तानी पक्षले निकै राम्रो व्यवस्थापन गरेका थिए।”

उता, इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले पनि वार्ताबारे प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत वार्ता गहन भएको बताएका छन्। यद्यपि, वार्ताको सफलता विपक्षी पक्षको गम्भीरता र सद्भावनामा निर्भर हुने उनले उल्लेख गरेका छन् ।

करिव २१ घण्टा लामो वार्ता विफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरान वार्ताको परिणामबाट आफू चिन्तित नभएको बताएका छन् । ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा अमेरिका अगाडि रहेको दाबी गरेका छन् । इरानलाई जसरी पनि जित्ने उनको भनाइ छ । इरानको नौसेनासँग १५८ जहाजहरू रहेको र उनीहरूसँग २८ वटा माइन ड्रपरहरू रहे पनि ती सबै डुबिसकेको उनले दाबी गरे ।